News

Oct 2, 2008

नेपाल-भारत जलस्रोत वैठकमा २९ बुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाल-भारतबीच जलस्रोतका विषयमा विगतमा अड्किएका थुप्रै समस्या सुल्झाउन राजधानीमा सम्पन्न नेपाल-भारत जलस्रोतसम्बन्धी उच्चस्तरीय बैठक सफल भएको दाबी गरिएको छ । सोमबारदेखि राजधानीमा जारी बैठकले २९ बुँदे सहमति गरेको छ । सहमतिपत्रमा नेपालका तर्फबाट जलस्रोत सचिव शंकरप्रसाद कोइराला र भारतीय समकक्षी उमेशनारायण पञ्जियारले हस्ताक्षर गर्नुभएको थियो ।सहमतिपत्रमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई छिट्टै कार्यान्वयन गर्न उच्चस्तरीय पञ्चेश्वर विकास प्राधिकरण गठन गर्ने र यसमा दुवै देशका सचिवहरूले संयुक्त अध्यक्षता गर्ने निर्णय भएको छ । कोसी तटबन्ध आगामी नोभेम्बरको पहिलो साताभित्र पानीको बहाव कम भएपछि निर्माण थालनी गरी सन् २००९ मार्चसम्म पूरा गरिसक्ने सहमति भएको छ ।सुनकोसी-कमला डाइभर्सनको एक वर्षभित्र अध्ययन गरिसक्ने तथा महाकाली सन्धिअनुसार टनकपुर-महेन्द्रनगरसम्मको १२ किमी चार लेनको सडकको निर्माण कार्य छिट्टै गरिने विषयमा पनि बैठकले निर्णय गरेको छ । लक्ष्मणपुरमा भारतीय पक्षबाट निर्माण भएको बाँधका कारण नेपाली भू-भाग डुबान समस्या समाधानका लागि गधेली र सोतिया नालाको पानीको निकास गर्न भारतीय पक्ष सहमत भएको छ ।त्यस्तै महली सागरमा भारतीय पक्षबाट एकतर्फी रूपमा बाँध निर्माण गर्ने कार्य रोक्न नेपाली पक्षबाट गरिएको आग्रहलाई भारतीय पक्षले स्वीकार गरेको छ । जलस्रोत क्षेत्रको राजनीतिक र नीतिगत निर्णय गर्न छ महिनाभित्र दुइ देशका जलस्रोतमन्त्री रहने संयुक्त आयोगको गठन गरिने छ भने प्राविधिक विषयका लागि सहसचिवस्तरीय संयुक्त प्राविधिक सहमतिको गठन गर्ने सहमति भएको छ ।

No comments: