News

Oct 2, 2008

सत्ता साझेदार दलहरुले एक उच्चस्तरीय संयन्त्र बनाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारको काम कार्बाही चुस्त दुरुस्त पार्न सत्ता साझेदार दलहरुले एक उच्चस्तरीय संयन्त्र बनाउने भएका छन् । सत्ता साझेदार ६ वटै दल नेकपा माओवादी, नेकपा एमाले, मधेशी जनअधिकार फोरम, जनमोर्चा नेपाल, सदभावना पार्टी र नेकपा संयुक्तका शीर्ष नेताहरुको बिहीबार बिहान बसेको बैठकले सबै दलले पठाएको प्रतिनिधि समावेश गरेर दुइ दिनभित्र समिति गठन गर्ने निर्णय गरेको छ । सरकारको हरेक काम कारबाहीमा सुझाव दिने र आवश्यकता अनुसार शीर्ष नेतृत्वको बैठक बोलाउने अधिकार समितिलाई हुने बैठकमा सहभागी एमाले महासचिव झलनाथ खनालले जानकारी दिनुभयो । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले मुलुकका विभिन्न जेलमा रहेका बन्दीहरुको बारेमा अध्ययन गरेर माफी दिन मिल्नेलाई माफी दिने पनि निर्णय गरेको छ । बन्दीहरुको बारेमा अध्ययन गर्न कानुन न्याय तथा संविधानसभा व्यवस्था मन्त्रालयले एउटा समिति गठन गर्ने र समितिको सिफारिसको आधारमा बन्दी रिहा गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी बैठकले मधेशी दलहरुसँग गरेको सहमतिलाई कार्यान्वयनमा लैजाने र आस्थाका बन्दीहरुको मुद्दा फिर्ता लिने विषयमा कुराकानी भएको बैठकमा सहभागी सदभावनाका राजेन्द्र महतोले जानकारी दिनुभयो । बैठकमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो १० दिने अमेरिका भ्रमणवारे जानकारी गराउनुभएको थियो ।

No comments: