News

Feb 9, 2009

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था गम्भीर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालमा प्रेस स्वतन्त्रताको अवस्था गम्भीर रहेको ठहर अन्तर्राष्ट्रिय पत्रकार मिसनले ठहर गरेको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था पुनस्थापना भए पनि
प्रेस स्वतन्त्रताले गम्भीर चुनौती सामना गर्नु परिरहेको मिसनलको ठम्याइ छ । नेपालको प्रेस स्वतन्त्रता अवस्था बुझ्न आएको मिसनले चारदिने नेपाल भ्रमणको अन्तिम दिन आइतबार पत्रकार सम्मेलन गरी यस्तो ठहर गरेको जानकारी दिएको हो ।मिसनले नेपालमा सन् २००८ मा मात्र ३४२ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटनाहरू भएको नेपाल पत्रकार महासंघको अभिलेखलाई उद्धृत गर्दै सञ्चारकर्मी र प्रकाशन गृहहरूमाथि भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाही गर्न माग गरेको छ ।पत्रकारहरू उमासिंह, जेपी जोशी, वीरेन्द्र साह र पुष्करबहादुर श्रेष्ठको हत्या र बेपत्तासम्बन्धी यी र अन्य सबै घटनाहरूको तत्काल स्वतन्त्र र निष्पक्ष छानबिन गर्नुपर्ने कुरामा मिसनले जोड दिएको छ । पत्रकार सम्मेलनमा मिसनका प्रतिनिधि मार्क बेन्चले पत्रकार उमा सिंहको हत्या अत्यन्तै दर्दनाक घटना भएको आफूले स्थलगत भ्रमणका सिलसिलामा बुझेको उल्लेख गर्दै त्यसक्षेत्रमा दण्डहीनताले पत्रकारहरू असुरक्षित रहेका र पेसाबाट पलायन हुन थालेका बताउनुभयो ।पत्रकार प्रकाश सिंह ठकुरीलाई बेपत्ता पारिएको घटनामा संलग्न व्यक्तिलाई सरकारले मुद्दा फिर्ता लिएकोमा आपत्ति जनाउँदै मिसनले प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मिसनसमक्ष उक्त मुद्दाको पुन छानबिन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी मिसनले गराएको छ ।मिसनले सबैका लागि अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितता गर्नुपर्ने र नयाँ संविधानमा प्रेस स्वतन्त्रतालाई समावेश गर्नुपर्ने, सूचनाको हकसम्बन्धी कानुन प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने, सरकारले सञ्चारमाध्यम नियन्त्रणको अन्त्य र सार्वजनिक सेवा प्रसारकको व्यवस्था गर्नुपर्ने साथै प्रसारणसम्बन्धी एउटा स्वतन्त्र नियमनकारी निकाय स्थापना गरिनुपर्नेमा जोड दिएको छ ।यसैगरी फौजदारी गाली बेइज्जतीको व्यवस्था खारेज गरी नियमित सम्वादका माध्यमबाट सञ्चारकर्मी तथा सञ्चारमालिकहरूबीच सहमति सिर्जना गर्दै श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन गर्न मिसनले आग्रह गरेको छ । अभिव्यक्ति स्वतन्त्रता रक्षाको साझा लक्ष्यका लागि सञ्चारसम्बन्धी सबै सरोकारवालाहरू एकजुट हुनुपर्ने मिसनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।मिडिया मिसनमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ -आइएफजे, अन्तरराष्ट्रिय मिडिया सहयोग -आइएमएस, इन्टरनेसनल प्रेस इन्स्िटच्युट -आइपीआइ, सीमारहित पत्रकार -आरएसएफ, युनेस्को र विश्व प्रेस स्वतन्त्रता समिति -डब्लुपीएफपसी का प्रतिनिधित्व सहभागी थिए ।

No comments: