News

Feb 9, 2009

विषादी मिथायल भेटियो मदिरा परीक्षणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय विधिविज्ञान प्रयोगशालाले उपत्यकाको बजारमा रहेका मदिराहरूमा मिथायलको मात्रा बढी भएको जानकारी दिएको छ। राजधानीका विभिन्न स्थानबाट संकलन गरी परीक्षणका लागि पठाइएका ५१ बोतल विभिन्न ब्रान्डका मदिरामध्ये ६ वटा बोतलमा मिथायल नामक विषादी फेला परेको प्रयोगशालाले जनाएको छ।सीमित स्रोत र साधनका बाबजुद प्रयोगशालाले परीक्ष्ँण गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ।प्रहरीका अनुसार परीक्षणका लागि पठाइएका खुकुरी रम, रोयल स्टेगलगायतका नेपाली मदिरामा विषादी फेला परेको हो।प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी पठाइएका २ सय २५ बोतल मदिराको परीक्षण हुन बाँकी रहेको प्रयोगशालाले जनाएको छ।यसबाहेक उपत्यकाभित्रै अनेकौं मदिराका नमुना बरामद गरिएको र उपत्यका बाहिरबाट पनि व्यापक रूपमा मदिराहरू परीक्षणका लागि प्राप्त हुने सम्भावना रहेको प्रयोगशालाले दाबी गरेको छ।नेपालको एक मात्र विज्ञान प्रयोगशाला लोडसेडिङको मारमा पर्दै आएकाले वैकल्पिक व्यवस्थाका लागि सरकारसँग नास्टले आग्रह गरेको छ।नास्टले प्रयोगशालामा विद्युत् आपूर्ति कटौती भएको र विकल्पमा जेनेरेटरसमेत नभएकाले विद्युत् आपूर्तिको विशेष व्यवस्था उपलब्ध गराइदिन जलस्रोत मन्त्रालयलाई पत्राचार गरेको छ।विद्युत् प्राधिकरणले गरेको लोडसेडिङको व्यवस्थाअनुसार प्रयोगशालामा कार्यालय समयमा तीनदिनका लागि मात्र अधिकतम ४ घण्टा विद्युत् आपूर्तिको व्यवस्था मिलाएकाले २ घण्टा उपकरण तताउन र पछि केही समय उपकरण सुरक्षित रूपमा बन्द गर्न लाग्ने भएकाले परीक्षणका लागि दैनिक एक घण्टा मात्रै सम्भव हुने नास्टले दाबी गरेको छ।विद्युत् आपूर्तिमा देखिएको गड्बडीका कारण विभिन्न किसिमका परीक्षणमा कठिनाइ आएको पनि नास्टले जनाएको छ।यसैबीच मिसावटयुक्त मदिरा सेवनका कारण फेरि एक जना बेहोस भएका छन्। धादिङ बैरेनी गाविस-८ निवासी ५० वर्षीय सानुहीरा कार्की सोही स्थानको एक भट्टीपसलमा मदिरा सेवन गर्दा बेहोस भएका हुन्।शनिबार साँझ करिब ७ बजे मदिरा सेवन गरी बेहोस भएपछि उनलाई उपचार्रार्थ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।

No comments: