News

Feb 14, 2009

रुक्मांगद कटुवालले द्विअर्थी जवाफ दिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको राष्ट्रिय हित संरक्षण समितिमा शुक्रबारका बोलाइएका थिए, प्रधानसेनापति रुक्मांगद कटुवाल । राष्ट्रिय सुरक्षाका संवेदनशील विषयहरूमा सोधपुछका लागि निम्त्याइएका कटुवाल द्विअर्थी जवाफ दिएर फर्के । कतिपय सभासद्का प्रश्नका आक्रामक र चेतावनीमिश्रति त कतिपय प्रश्नका व्यंग्यात्मक जवाफ फर्काएका थिए कटुवालले । रक्षा मन्त्रालय र सेनाबीचको विवादका बारेमा सोधिएका प्र्रश्नलाई 'जहाँ पायो त्यहीँ बोल्न नमिल्ने’ भन्दै पन्छ्याए उनले । दिउँसो साढे ११ बजे समितिमा बोलाइएका प्रधानसेनापति कटुवाल लिखित जवाफ बोकेर आएका थिए । नेपालको नयाँ मूल नीति र राष्ट्रिय सुरक्षा-नीतिका सम्बन्धमा उनले लिखित सुझाव समितिका अध्यक्ष अमीक शेरचनलाई बुझाएपछि सभासद्हरूले कटुवालसित प्रश्न सुरु गरे । पहिलो प्रश्न सेना भर्नासम्बन्धी विवादका बारेमा सोधिएको थियो । पहिलो प्रश्नमै उनले जवाफ दिन अस्वीकार गरे । 'ती आन्तरिक कुरा हुन्, जहाँ छलफल गर्नुपर्ने हो त्यही गर्छौं । यहाँ म त्यसका बारेमा जवाफ दिन आएको पनि होइन,’ कटुवालको ठाडो जवाफ थियो । सेनाले राष्ट्रिय अखण्डता जोगाउन अहिलेसम्म के-के गर्‍यो भन्ने माओवादी सभासद् सूर्यबहादुर सेन ओलीको प्रश्नमा पनि कटुवालले भने, 'सेना आफैं बन्दुक लिएर उफ्रँदै हिँड्ने होइन । म कुनै 'इन्स्ट्रक्टर’ पनि होइन । यो प्रश्न गर्ने माननीयज्यूलाई नै यस सम्बन्धमा धेरै ज्ञान छ । लामो अनुभव पनि छ । कस्ता-कस्ता अनुभव सँगालेर यहाँ आउनुभयो, मलाई सबै थाहा छ ।’सेना कानुनमा बाँधिएर बसेको भन्दै उनले सभासद्हरूलाई लगभग चेतावनीमिश्रति जवाफ दिए । ँबोल्नकै लागि त दुई/चार भाषा सेनाका जवानहरूले पनि जानेका छन् । हाम्रो पनि मुख छ । बोल्न सक्थ्यौं । बोल्ने ठाउँ पनि हामीलाई थाहा छ, तर बोल्दैनौं । किनभने हामी कानुनले बाँधिएका छौँ,’ उनले भने । ४३ सदस्यीय समितिका केही सदस्यहरू कटुवालको जवाफबाट 'ट्वाँ’ परेको देखिन्थ्यो । वेलावेलामा बैठक कक्षमा हाँसोको फोहरा छुट्थ्यो ।जवाफ सुनिसकेपछि समितिका सभापति अमीक शेरचनले बैठकमै भने, 'तपाईंले मिलिट्री साइन्स पढेको हो कि पत्रकारिता, मैले बुझ्न सकिनँ । अत्यन्त कूटनीतिक ढंगले सटिक जवाफ दिनुभयो ।’

No comments: