News

Feb 10, 2009

श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
श्रृजना डट कमद्वारा आयोजित ‘श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा तथा नेपाली साहित्यमा हङकङ हिजो, आज र भोलि’ विषयक अन्तरविमर्शको कार्यक्रम जोर्डनस्थित याक एण्ड यति रेष्टुरेन्टको सभा हलमा संपन्न भयो । कुल १४ देशबाट सहभागी ७० प्रतिश्पर्धी कविताहरु मध्येबाट ३ सदस्यीय निर्णायक मण्डलद्वारा १) वादी विज्ञप्ति - प्रगति राई, प्रथम, (नेपाल) (NRs. 10,000), २) फूल र ढुंगा साम्राज्य - निराजन बतास, द्वितीय, (नेपाल) (NRs. 5,000), ३) आलंकारिक नागरिक - अशोक राई, तृतीय, (हङकङ) (NRs. 3,000) तथा मेरी आमा - बाबु त्रिपाठी (नेपाल) (NRs. 1,000) र गाउँको संझना - टोप बहादुर राई (हङकङ) (NRs. 1,000) सान्त्वना घोषित भएका थिए ।प्रतियोगितामा विजयी कविताहरुलाई निर्णायकहरुद्वारा वाचन गरेर सुनाइएको थियो । सान्त्वनाका दुई कवितालाई निर्णायक टंक साम्बहम्फे, द्वितीय कवितालाई निर्णायक हाङयुग अज्ञात तथा प्रथम कवितालाई निर्णायक तथा श्रृजना डट कमका संपादक किराँती भोगेन एक्लेले वाचन गरेका थिए । तृतीय स्थान प्राप्त कविता भने कवि अशोक राई स्वयंबाट वाचन गरिएको थियो । प्रतियोगितामा सहभागी प्रेम कोरङगी, हिमकला राई र पिताम्बर राईद्वारा पनि कविता सुनाइएको थियो ।स्वागतको क्रममा संपादक भोगेन एक्लेले छोटो समयको श्रृजना डट कमको सफलता विशेष रहेको र श्रृजना डट कमको प्रथम कार्यक्रम भएको हुनाले केही प्राविधिक त्रुटिहरु सुधार गर्दै लगिने बताए ।दोस्रो चरणको कार्यक्रम अन्तर्गत नेपाली साहित्यमा हङकङस् हिंजो आज र भोलि अन्तर्विमर्श कार्यक्रममा हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बहम्फेले, ह ने सा प्र पहिलो साहित्यिक संस्था भएको र यसको योगदानहरुको चर्चा गरे । जनजाति गीतकार समाज, हङकङका अध्यक्ष प्रदिप कन्दङवाले भने सृजनशील साहित्य समाजबाहेक अन्य साहित्य संस्थाले निरन्तरता गुमाएको र वर्ष गाँठ मनाउने कार्यक्रममा मात्रै सीमित भएको बताए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टरका उपाध्यक्ष कमल पौडेलले हिंजोको अवस्थामा हङकङको नेपाली साहित्यको चर्चा गर्दै प्रविधिकको अभावमा टेलफोनबाट समाचार, साहित्य र मनोरञ्जनका कार्यक्रम चलाइएका दिनको स्मरण गरे । सृजनशील साहित्य समाजका सचिव नरेश सुनुवारले हङकङमा नेपाली साहित्यको विगतदेखि आगतसम्मको चर्चा गर्दै नेपाली साहित्य उर्वर रहेका मुलुकमा नेपाल, भारत पछि तेस्रो स्थानमा हङकङ रहेको र विगत अर्ध दशक हङकङको नेपाली साहित्यको लागि अत्यन्तै उपलब्धिमूलक रहेको बताए । जनजाति साहित्य समूह का अध्यक्ष भूपेन्द्र चेम्जोङले जनजाति साहित्य हिजो, आज र भोलिको विषयमा चर्चा गर्दै जनजाति साहित्यलाई वर्गीकरण र अनुसन्धान गर्दै रहेको बताए । एकात्मक राज्य प्रणालीको प्रभावमा जनजाति साहित्य दमित भएको भन्ने उनको धारणा थियो । भयवादी साहित्यकार देश सुब्बाले आफ्नो भयवादको सिध्दान्तमाथि चर्चा गर्दै भयकोसमाप्ति सृजनाको समाप्ति हो, भयको ग्रन्थी मस्तिष्कबाट झिकिदिए संसार र जीवन निरस हुने भन्दै भयको सुन्दर पाटो चर्चा गर्दै भयवाद माथि अवधारणा पत्र पेश गरेका थिए ।कार्यक्मको अध्यक्षता गरिरहेका कार्यक्रम संयोजक मेख गुरुङले उपस्थित सबैमा धन्यवाद तथा सबै प्रायोजक, प्रतियोगी र प्रतियोगितालाई सफल बनाउन सह्योगी वेब साइटहरुप्रति आभार ब्यक्त गर्नाका साथै आगामी कार्यक्रम श्रृजना कथा प्रतियोगिता हुने जानकारी गराए । संपूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारण मूल बाटो डट कमले गरेको थियो ।

No comments: