News

Feb 10, 2009

पनसेटीया १०औं वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ
हङकङ पनसेटीया प्राथमिक विद्यालय स्थापना भएको १०औं वर्ष पुगेको अवसरमा गत शनिबार जोर्डनमा आयोजित पत्रकार सम्मेलनमा चरणबद्ध किसिमले आगामी महिनाहरुमा विविध कार्यक्रमहरु गर्ने जानकारी सञ्चालकहरुबाट गराइएको छ । समाजका लागि गरिने कामहरु समाजलाई अवगत गराउने महत्वपूर्ण माध्यमको रुपमा क्रियाशील पत्रकारहरुको योगदानलाई दिलैदेखि सराहाना गर्दछौं भन्दै विद्यालयको दशौं वार्षिकोत्सवलाई प्रचारप्रसार गराउनका लागि विद्यालयको समितिले पत्रकारहरुसँग गहन अपेक्षा राखेको दृष्टान्त दर्शाइएको थियो । स्मरण रहोस्, गत नोभेम्बर २३ तारिख डिस्कोभरी वेमा पनसेटीया प्राथमिक विद्यालयको सहयोगार्थ आयोजित उक्त दौड प्रतियोगिता, जसको आयोजक श्रीमती कोबी जेन्सन, श्रीमती मिस्सी एम्रोल, श्रीमती कविता गुरुङ, वाइ बी राई थिए, बाट विद्यालयलाई हङकङ डलर १लाख ९हजार ३ सय ६६ प्राप्त भएको थियो ।
उक्त विद्यालयको दशौं वार्षिकोत्सवमा हुन गइरहेका कार्यक्रमहरुको बारेमा उपलब्ध गराइएको लिखित जानकारी निम्न छन् :-
१. “हङकङ पनसेटीया प्राथमिक विद्यालयको एक दशक योगदान, संभावना र चुनौति” शीर्षकमा वृहत छलफल कार्यक्रम मार्च महिनाको १५ तारिख आयोजना गरिने छ । छलफल कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य जेबी ओख्राबुले विद्यालयको बारेमा संक्षिप्त विवरण तयार गरी प्रस्तुत गर्नेछन् ।
२. “तपाइहरुको होष्टेमा हाम्रो हैंसे-२” कविता गोष्ठि एवं साँस्कृतिक कार्यक्रम अप्रिल ५ तारिख आयोजना गरिने छ । अधिकतम उपलब्ध प्रविधिको प्रयोग गर्दै कविता वाचन तथा श्रवणलाई अत्यन्तै प्रभावकारी एवं सुरुचिपूर्ण बनाउने जमर्को गरिनेछ । सो अवसरमा विद्यालयका विद्यार्थीहरुद्वारा नृत्यहरु प्रस्तुत गरिनेछन् । उक्त गोष्ठिमा वाचन गरिएका कविताहरु विद्यालयको स्मारिकामा प्रकाशन गरिनेछन् । सम्पूर्ण कवि साहित्यकारहरुसंग “पनसेटीया प्राथमिक विद्यालयको एक दशक, प्रतिवध्दता, सेवा र समर्पणको दशक” भन्ने नाराको सेरोफेरोमा कविता रचना गरिदिन हुन आयोजकको नाताले समितिबाट अनुरोध गरिने छ ।
३. १०औं वर्षगाँठ विशेष समारोह मे ३१ तारिख सम्पन्न गरिने छ । विशेष समारोहमा विद्यालयलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण दाताहरु, विद्यालयका विविध गतिविधिहरुमा सहयोग गर्ने सहयोगीहरु, विद्यालयले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी बन्ने साहित्यकार कलाकारहरु, विद्यालयमा आबध्द रहेका शिक्षक कर्मचारीहरु र पनसेटीयामा अध्ययन गरी हाल माध्यमिक विद्यालयमा अध्ययनरत उतकृष्ट विधार्थीहरुलाई सम्मान गरिने छ । सोही अवसरमा विद्यालयको स्मारिकाको विमोचन पनि गरिनेछ ।
४. विद्यालय सल्लाहकार समितिविद्यालयलाई विभिन्न सल्लाह सुझाव दिन र विविध गतिविधिहरुमा सहयोगका लागि एक सल्लाहकार समितिको गठन गरिएको छ । अन्य धेरै महत्वपूर्ण व्यक्तित्वहरुले चासो लिएका भए पनि तिनको स्वीकृति प्राप्त गर्नु बाँकी रहेको र संभावित तिनै सल्लाहकारहरुसंग अनुरोध गर्ने क्रम निरन्तर रहने छ ।
५. विद्यालय सहयोगीहरुको समूह गठनविद्यालयका विविध गतिविधिहरुमा सहयोग पुर्‍याउन विभिन्न व्यक्तित्वहरुलाई आग्रह गरिएको छ । कुनै संगठनात्मक दायराभित्र नरहीकन पनि महत्वपूर्ण सहयोग गर्न सक्ने व्यक्तित्वहरुलाई सहयोगी समुहमा आवध्द हुन अनुरोध गरिइँदैछ । विद्यालय नेपाली समुदायको हो र समुदायको प्रत्येक सदस्यले यो विद्यालयलाई नेपालीहरुको शिक्षा प्रतिको संवेदनशीलता र गम्भीरता, हङकङकमा दीर्घकाल बसाइ प्रतिको सजगता र आफ्नो भाषा संस्कृतिको प्रतिको मोह, नेपालीहरुको इच्छा आकांक्षा र आफ्नो पहिचानको मूर्त बिम्बका रुपमा विकसित गर्न आफूले चाहेबमोजिम योगदान गर्न सक्ने अवसरको रुपमा सहयोगी समूह गठनको सोच ल्याइएको हो । हालसम्म केही सदस्यहरुले स्वीकारोक्ति दिई सकेता पनि आधिकांशसमक्ष अनुरोधका लागि पुग्न बाकी रहेकोछ र यो कार्य निरन्तर गरिने छ ।
६. १०औं वर्षगाँठ आयोजक समितिको गठनमाथि नं. १, २, र ३ मा उल्लेख गरिएका कार्यक्रमहरु सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय संचालक संस्था हक गोर्खाज एशोसिशएशनका अध्यक्ष भक्त बहादुर दुराको संयोजकत्वमा विद्यालयका सुपरभाइजर विद्यालय सञ्चालक समितिका सदस्यहरु र अन्य नेपाली समुदायका महत्वपूर्ण व्यक्तित्वहरु सम्मिलित ५१ सदस्यीय १०औं वर्षगाँठ आयोजक समितिको गठन गरिने छ । गठन प्रक्रियाका लागि विभिन्न व्यक्तित्वहरुसंग कुराकानी शुरु गरिसकिएको छ ।
७. विद्यालय स्मारिका प्रकाशनपनसेटीया प्राथमिक विद्यालय स्थापनादेखि हाल सम्मका सम्पूर्ण गतिविधिहरु अभिलिखित गर्न स्मारिका प्रकाशन गरिनेछ । स्मारिकामा विद्यालयका बारेमा प्रकाशित समाचार, लेख रचनाहरु र नेपाली समुदायमा विद्यालयले गरेका योगदानहरुको परिचर्चाहरु र समसामयिक लेखहरु समाविष्ट गरिनेछन् । स्मारिका प्रकाशनका लागि विद्यालय सुपरभाइजर गणेश इजमको संयोजकत्वमा सम्पादन समिति र विद्यालय व्यवस्थापन समितिका सदस्य उत्तरमान लिम्बूको संयोजकत्वमा स्मारिका प्रकाशन व्यवस्थापन समितिको गठन गरिएको छ । यी उल्लेखित समितिहरुमा अन्य महत्वपूर्ण व्यक्तिहरुलाई सदस्यको रुपमा मनोनयन गर्न कुराकानीको प्रक्रीयालाई अघि बढाइ सकिएको छ । स्मारिका अंग्रेजी र नेपाली भाषामा प्रकाशन गरिनेछ ।
८. प्रचार प्रसार समिति१०औं वर्षगाँठ प्रचारप्रसारका लागि एक समिति गठन गरिने छ र उक्त समितिका संयोजकको रुपमा विद्यालय व्यवस्थापना समितिका सदस्य दिल पालुवालाई तोकिएको छ । अन्य सदस्यहरुको मनोनयन मूल समिति गठनपश्चात गरिनेछ ।

No comments: