News

Feb 8, 2009

चितवनमा एकसिंगे गैंडा असुरक्षित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चोरी-सिकारी नियन्त्रण नहुँदा चितवन राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ एकसिंगे गैंडा असुरक्षित बनेका छन् । पछिल्लोपटक सिकारीले चितवन निकुञ्जबाट एउटा गैंडाको खाग काटेर लगेका छन् । २३ माघमा निकुञ्जको पश्चिमी क्षेत्र जर्नेलीपोस्ट र डुमरीयापोस्टको बीचमा एउटा भालेगैंडा खागविहीन अवस्थामा भेटिएपछि सिकारीले लगेको थाहा भएको हो । निकुञ्ज प्रशासनले घाइते गैंडाको उपचार थालेको छ । चोरी-सिकारी नियन्त्रण नभएका कारण वैशाखयता चितवन राष्ट्रिय निकुञ्जमा ६ वटा गैंडा मारिएका छन् । तीमध्ये चारवटा चोरी-सिकारीबाट मारिएका हुन् । पछिल्लोपटक गत पुसमा भालेगैंडा मारिएको थियो । खागका लागि तस्करले गोली हानेर गत वर्ष १३ वटा एकसिंगे गैंडा मारेको निकुञ्जले जनाएको छ । गर्भवती र सुत्केरी गैंडासमेत गत वर्ष मारिएका थिए । सन् २००० मा भएको गणनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच सय ४४ वटा गैंडा भेटिएका थिए । तर, सन् २००८ को गणनामा घटेर चार सय आठवटामा झरेको थियो । सन् २००१ देखि हालसम्म चितवन निकुञ्ज र आसपासका वन क्षेत्रमा एक सय ४३ वटा गैंडा मारिएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । गैंडा मारिनेक्रम बढेपछि चोरी-सिकारी नियन्त्रण गर्न गत वर्षको कात्तिकमा सर्वपक्षीय भेलाले २० बुँदे चितवन घोषणापत्र जारी गरेको थियो । गैंडा संरक्षणका लागि भएका पहल प्रभावकारी नदेखिएको गैंडा मारिएको तथ्यांकले पनि उजागर गरेको छ । सन् १९७२ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघले एकसिंगे गैंडालाई लोप हुन लागेको सूचीमा राखेपछि नेपालले त्यसको अनुमोदन गरेको छ । तर, यसअघि नै गैंडा संरक्षणका लागि ०१५ सालमा तत्कालीन सरकारले वन्यजन्तु ऐन ल्याएको थियो । ०२९ मा बनेको राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण ऐनसँगै ०३० सालमा चितवन निकुञ्ज स्थापना भएपछि विभिन्न संरक्षण अभियान पनि सञ्चालन गरिँदै आएको छ । तर, गैंडा संरक्षण प्रभावकारी हुन सकेको छैन । गैंडा संरक्षण तथा चोरी-सिकारी प्रयास फितलो हुनुमा सबै दोषी भएको निकुञ्ज प्रशासनले जनाएको छ । सबैको सहयोगविना संरक्षणमा कठिनाइ आएको उल्लेख गर्दै निकुञ्जका प्रमुख संरक्षण अधिकृत नरेन्द्रबाबु प्रधानले भने, 'गंैडाको संरक्षण गर्ने दायित्व सबैको हो, सबैले सहयोग गर्नुपर्छ ।' निकुञ्जका सहायक वार्डेन अणनाथ बरालले भने सरकारले कर्मचारीलाई हतोत्साही बनाएका कारण चोरी-सिकारी नियन्त्रण गर्न नसकिएको दाबी गरे । लाखौँ रुपैयाँमा खाग बिक्री हुने भएकाले तस्करहरू गैंडा मार्न सक्रिय भएका हुन् । गैंडाको खाग-तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेकाहरूको बयानका आधारमा एककिलो खाग चितवनमा करिब सात लाख र काठमाडौंमा १५ लाखमा बिक्री हुन्छ । बढी तस्करी हुने गरेको तिब्बतमा यसको करिब दोब्बर मूल्यमा बिक्री हुने गरेको पक्राउ परेकाहरूले बताएका छन् । उनीहरूका अनुसार गैंडाको खाग तिब्बत हुँदै ताइवान, हङकङलगायतका देशमा चोरी-निकासी हुने गरेको छ ।

No comments: