News

Feb 14, 2008

अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौँ प्रतिनिधि
संयुक्त राष्ट्रिय लोकतान्त्रिक मोर्चा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजोदेखि आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभावित भएको छ।आत्मनिर्णयसहितको जातीय स्वायत्तशासन हुनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने, मधेस र लिम्बुवान आन्दोलनमा मारिएकालाई सहिद घोषणा गरिनुपर्ने लगायतका माग राख्दै उनीहरुले सो बन्दको आह्वान गरेको बताइएको छ। यसैबीच मोरङको महेन्द्र राजमार्ग खण्डमा हिजो प्रहरीले स्कर्टिङ गरी एक दर्जन सवारीका साधनलाई गन्तव्यस्थलसम्म पुर्याएका छन्।
बन्दका कारण परासीबाट चल्ने छोटा र लामा दूरीका सवारीसाधन चल्न सकेनन् भने महेशपुर, सेमरी, वासा, गोपिगन्जका क्षेत्रमा पनि यातायात, उद्योग, कलकारखाना, पसल, शैक्षिक संस्था पूर्ण रुपमा ठप्प भए।
उता बन्दका आह्वानकर्ताले महेन्द्र राजमार्गअर्न्तर्गत नवलपरासीको वासामा बिहानैदेखि प्रदर्शन गरी बाटो अवरुद्ध गरेका कारण सो क्षेत्रमा समेत यातायात पूर्णरुपमा ठप्प भयो।
बन्दको समयमा अस्पताल, कूटनीतिक, रेडक्रस, उखु किसान, प्रेस, दमकल, एम्बुलेन्स, अनमिन, विवाह, शववहन, मानवअधिकारवादीका सवारीसाधन सञ्चालनमा ल्याउन दिने मोर्चाले जनाएको छ। बन्द आह्वानले महोत्तरी जिल्लाको दक्षिणवर्ती भेगको जनजीवन प्रभावित बनेको छ। बन्द आह्वानको पहिलो दिन जिल्ला सदरमुकाम जलेश्वरलगायत भारतीय सीमावर्ती बजार बन्द रही यातायात सेवा पनि नचलेकाले जनजीवन प्रभावित बनेको हो।
सो बन्द आह्वानले जिल्लाका मटिहानी, पिपरा, सम्सी, मनरा, भिठ्ठामोडलगायतका बजार क्षेत्र बन्द रहे।यता जिल्लाको उत्तरवर्ती क्षेत्रमा भने बन्दको असर देखिएको छैन। उत्तरवर्ती बर्दिवास क्षेत्रका व्यापारिक, शैक्षिक प्रतिष्ठान र पूर्व पश्चिम राजमार्ग एवम् बर्दिवास-सिन्धुली सडकका यातायात सेवा पूर्ववत् सञ्चालनमा रहेका छन्। उता जनकपुर, जलेश्वर-भिठ्ठामोड, जलेश्वर-मटिहानी, जलेश्वर-बर्दिवास सडकखण्डमा यातायातका साधन चलेनन्।त्यसैगरी जलेश्वर, बर्दिवास, गौशाला, मटिहानी, सम्सीजस्ता प्रमुख बजार बन्दका कारण पूर्णतया प्रभावित भए।
अनिश्चितकालीन बन्दका कारण शैक्षिक संस्थासमेत प्रभावित हुन पुगे। सदरमुकाम जलेश्वरलगायत जिल्लाका सम्पूर्ण प्रमुख बजार तथा गाउँका पसल, शैक्षिक संस्था र यातायातका साधन पूर्णतया बन्द रहे।

No comments: