News

Jul 25, 2012

पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर, डेढ वर्ष कैद, २ करोड १६ लाख जरिवाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १० - विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीलाई दोषि ठहर गर्दै डेढ वर्ष कैद सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले अख्तियारले दायर गरेको मुद्दामा जोशीलाई २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ १४ पैशा बिगो र बिगो बमोजिमको जरिवाना सुनाएको हो । पूर्वमन्त्री जोशीविरुद्ध विशेष अदालतमा चलिरहेको मुद्दामा वादी/प्रतिवादी दुवै पक्षको बहस असार ६ गते नै सकिएको थियो । बहस जेठ २९ गतेबाट सुरु भएको थियो । जोशीले ३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारले मुद्दा लगाएको थियो तर विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष न्यायाधीश भूपध्वज अधिकारी तथा सदस्य न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर राणाले हद म्याद नाघेको तर्क दिँदै मुद्दाको तथ्यभित्र प्रवेशै नगरी आरोपपत्र खारेज गरिदिएका थिए । विशेष अदालतले २०६३ कात्तिक ३० गते गरेको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । पुनरावेदन परेको पाँच वर्षपछि गत पुस २४ गते सर्वोच्च अदालतले तीन पटक गृहसहित ७ पटक मन्त्री भएका जोशीको मुद्दा उल्ट्याउँदै जो जे बुझ्नु छ बुझी तथ्यभित्र प्रवेश गरी ठहरेबमोजिम निर्णय गर्नु भन्दै मिसिल विशेष अदालतमा नै फिर्ता पठाउने आदेश गरेको थियो । जोशीविरुद्धको उक्त मुद्दामा उनीबाहेक उनका छोरा दिनेशराज जोशी, सासू नीरकुमारी पन्त, साला वासुदेव पन्त, ताराराज पाण्डे र रामकृष्ण तिवारी प्रतिवादी छन् । जोशीले कमाएको अवैध सम्पत्ति लुकाउन उनीहरू मतियार भएको अख्तियारको अभियोग छ ।

No comments: