News

Jul 27, 2012

एकीकृत माओवादीका नेताहरुको सम्पत्ति छानविन शुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एकीकृत नेकपा माओवादीले पार्टीका केन्द्रीय सदस्यहरुको सम्पत्ति छानविन शुरु गरिएको बताएको छ । राजधानीमा हालै सम्पन्न सातौ विस्तारित बैठकले गठन गरेको सम्पत्ति एवम् आर्थिक स्थिति छानविन आयोगले आज पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी नेताहरुको सम्पत्ति छानविनको काम थालिएको जनाएको हो । आयोगका संयोजक अमिक शेरचनले नेताहरुले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको थाहा पाएको भए साउन ११ देखि १५ गतेभित्र उजुरी दर्ता गर्न सर्वसाधारणसँग आग्रह गर्नुभयो । अध्यक्ष पुष्पकमल दाहालबाटै सम्पत्ति छानविनको प्रक्रिया शुरु गरेको पनि संयोजक शेरचनले बताउनु भयो । आयोगका सदस्य लोकेन्द्र विष्ट मगरले सम्पत्ति विवरण उपलब्ध गराउनका लागि नेताहरुलाई फाराम वितरण गरिने र प्राप्त विवरणकै आधारमा छानविनको प्रक्रियालाई अघि बढाइने बताउनुभयो । माओवादी कार्यकर्ताले नेताहरुले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको गुनासो गरेपछि गत साता सम्पन्न सातौ विस्तारित बैठकले शेरचनको संयोकत्वमा छानविन आयोग गठन गरेको थियो । आयोगमा नेता लोकेन्द्र विष्ट र नवराज सुवेदी सदस्य छन् । छानविन आयोगको कार्यालय पार्टी मुख्यालय कोटेश्वरमै स्थापना गरिएको छ भने विहान १० बजेदेखि साँझ ५ बजेसम्म उजुरी लिने व्यवस्था मिलाएको जनाइएको छ । उजुरीकर्ताको नाम गोप्य राखिने पनि दाबी गरिएको छ । पार्टीको तल्लो तहका नेता तथा कार्यकर्ता राखेर बनाइएको आयोगले शक्तिशाली नेताहरुको सम्पत्ति छानविन गरेर यथार्थ विवरण दिनसक्नेमा भने विषय भने शंकाको घेरामा रहेको छ ।

No comments: