News

Jul 31, 2012

टेलिकमले १९ अर्ब राजस्व बुझाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १६ - नेपाल टेलिकमले सरकारलाई चालु आर्थिक वर्ष रु १९ अर्ब छ करोड १५ लाख राजस्व बुझाउने लक्ष्य राखेको छ । कम्पनीद्वारा मंगलबार यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीले लाभांश, मूल्य अभिवृद्धि कर, स्वामित्व शुल्क तथा दूरसञ्चार सेवा शुल्क, आयकर र रोयल्टीलगायत शीर्षकमा सो रकम बुझाउने लक्ष्य लिएको हो । गत आर्थिक वर्ष २०६८/०६९ मा कम्पनीले सरकारलाई रु १८ अर्ब सात करोड ९३ लाख ७५ हजार ९९९ राजस्व बुझाएको थियो । कम्पनीले चालु आर्थिक वर्षमा वाईम्याक्स, आइपी, सिडिएमए, जिएसएम र थ्रीजीजस्ता नयाँ प्रविधिहरु सञ्चालनमा ल्याएर प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने जनाएको छ । त्यस्तै कम्पनीले गुणस्तरीय सेवाको पूर्वाधार खडा गरी सेवा नपुगेका ग्रामीण तथा सहरोन्मुख क्षेत्रहरुमा दूरसञ्चार सेवाहरुको पहुँच स्थापना गरी नयाँ उपकरण भित्र्याउने बताइएको छ । कम्पनीले चालु आर्थिक वर्षका लागि रु ६२ अर्ब ३६ करोड १६ लाख १० हजार बजेट छुट्याएको छ । कम्पनीले टेलिफोन लाइन जडान गर्ने योजना सञ्चालनका लागि रु १५ अर्ब ११ करोड चार लाख ८६ हजार विनियोजन गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक अमरनाथ सिंहले कम्पनीले उपलब्ध गराउने सेवालाई थप विस्तार गर्दै गुणस्तरलाई प्रभावकारी बनाउन नयाँ प्रविधि भित्र्याउने उल्लेख गरे । कम्पनीका प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले जिएसएमतर्फ एक करोड लाइन विस्तार गर्ने योजनाअनुरुप ४८ लाख लाइन खरिद सम्झौता भइसकेको जानकारी दिए । टेलिकमले ग्रामीण दूरसञ्चारतर्फ सरकारको नीतिअनुसार पहिलो चरणमा ३५ जिल्लामा करिब एक हजार आठसय गाविसमा वायरलेस ब्रोडव्यान्ड सेवाको पहुँच स्थापित गर्नेछ । गत वर्षको जेठ मसान्तसम्म कम्पनीका टेलिफोन ग्राहक करिब ७७ लाख १५ हजार र इन्टरनेट सेवामा करिब २० लाख १३ हजार पुगेको छ । गत वर्ष कम्पनीले रु १२ अर्ब ५४ करोड २५ लाख नाफा गरेको छ भने यस आर्थिक वर्षमा रु १२ अर्ब ५४ करोड ७० लाख नाफा गर्ने लक्ष्य लिएको छ ।

No comments: