News

Jul 27, 2012

ओलम्पिक भिलेजमा नेपाली टिमको भव्य स्वागत

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
लन्डन, श्रावण ११ - तीसौं गृष्मकालिन ओलम्पिकमा सहभागी हुन आएको नेपाली टिमले भव्य स्वागत पाएको छ । बुधवार मध्यान्ह ओलम्पिक स्टेडियम नजिक ओलम्पिक भिलेजमा आयोजित विशेष समारोहबीच टोलीलाई स्वागत गरिएको हो । यससंगै अब नेपाली टोलीको ओलम्पिक सहभागिताले औपचारिकता पाएको छ । ओलम्पिक भिलेज मेयरले यस खेल महासंग्राममा नेपाली टोलीलाई स्वागत गर्न पाउँदा गर्व लागेको बताउँदै टोली नेता गंगाबहादुर थापालाई स्टेजमा निम्त्याएर मायाको चिनो दिइन् । थापाले पनि नेपालबाट ल्याएको मयुर अंकित कलात्मक झ्याल ट्क्रयाउंदै नेपाली टोलीलाई गरेको आतिथ्यताप्रति आभारका केही शव्द खर्चिए । सो अवसरमा नेपाली राष्ट्रिय गान बजाइएको थियो । उता, नेशनल युथ थिएटरका कलाकारहरुले नेपालीसहित हेइटी, सिरियन र श्रीलंकन टिमको सम्मानार्थ करिब आधा घण्टा विभिन्न कला प्रस्तुत गरेका थिए । उनीहरुले नाचे, गाए र थिएटरकी सदस्य २२ वर्षीया डियना रोजरले लेखेको कविता पनि सुनाए जसमा खेलाडीहरुलाई लक्षित गर्दै आशा भन्दा साहस ठूलो कुरा हो भन्ने दर्शाएको थियो । स्वागत कार्यक्रमअघि आवास गृह रे म्यान्सन्स्बाट नेपाली झण्डा बोकेर सेफ द मिसन थापाको नेतृत्वमा खेलाडी, प्रशिक्षक र केही अन्य नेपाली स्वागत समारोह स्थलतर्फ ५ मिनेट मार्च पास गरेका थिए । सो अवसरमा एथलेटिक्स खेलाडीले रेशम फिरिरि.. गाएका थिए भने पौडी खेलाडी प्रसिद्धजंग शाहले यो मन त मेरो नेपाली हो... गाए । कार्यक्रमपछि सेफ द मिसन गंगा थापाले आफ्नो ४५ वर्षे खेल अनुभवका दौरान पहिलोपटक लन्डनमा ओलम्पिकजस्तो खेल महासंग्राम अवलोकन गर्न पाएकामा प्रसन्नता व्यक्त गरे । "पदकको आशा भन्दा पनि यसबाट नेपाली खेलाडीले नयां अनुभव संगालेर भविष्यमा अन्य प्रतिष्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सक्ने मेरो विश्वास छ" थापाले भने । बेलायतका लागि नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले खेलाडीहरुलाई अग्रीम शुभकामना दिंदै ओलम्पिकमा नेपालको सहभागिताले अन्तर्राष्ट्रियस्तरमा खेलाडीमात्र होइन, देशकै प्रतिष्ठा उँचो हुने बताए । "ओलम्पिक भन्या पिस सिम्बोल हो, त्यसकारण सहभागिताले मात्र पनि नेपालले विश्व शान्तिमा ऐक्यवद्धता जनाएको सन्देश दिनेछ", चालिसेको कुटनीतिक टिप्पणी थियो । २७ जुलाई देखि १२ अगस्तसम्म हुने तीसौं ओलम्पिक खेलमा नेपालबाट पौडीमा श्रेया धिताल र प्रसिद्धजंग शाह, सुटिंगतर्फ स्नेहा राणा एवं एथलेटिक्स्का प्रमिला रिजाल र तिलकराम थारुले प्रतिष्पर्धा गर्दैछन् । उनीहरु सबैले स्वागत समारोहका क्रममा पदक जित्ने आशा भन्दा पनि आफ्नो नेशनल रेकर्ड ब्रेक गर्ने बताएका छन् ।

No comments: