News

Feb 18, 2013

‘बाहुन’लाई महावाणिज्यदूत बनाइएकोमा विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 ७ फागुन, नेपाल सरकारले हङकङको महावाणिज्यदूतमा महेशप्रसाद दाहाललाई गरेको नियुक्ति बदर गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ हङकङले संघर्ष थालेको छ । आन्दोलनकारीहरुको एकसूत्रीय माग दहाललाई फिर्ता गरी आदिवासी-जनजाति मूलको महावाणिज्य दूत तोकिनुपर्ने भन्ने रहेको छ । विगत ५/६ वर्षदेखि महासंघले आदिवासी जनजाति मूलका महावाणिज्यदूतको माग गरिरहेकोलाई वेवास्ता गरी दाहाललाई गरिएको नियुक्ति बदर गर्न माग गर्दै विरोध कार्यक्रममा अध्यक्ष एमबी थापामगरले दहालको नियुक्ति बदर नगरिए आमरण अनशनसम्म गर्ने जानकारी दिए । निवर्तमान महावाणिज्यदूत एव्र माधवकुमार नेपालका भाइ विनोदकुमार उपाध्यायको अवकाश हुने समयमा प्रधानमन्त्री, परराष्ट्रमन्त्री र सत्तारुढ एनेकपा माओवादी अध्यक्षलाई ज्ञापनपत्रमार्फत मागबारे स्मरण गराइएको कार्यक्रममा महासंघका सदस्य किसन राईले जानकारी गराए । उनले यो मुद्दालाई नेपाली समुदायमामात्र सीमित नराखी अन्तरराष्ट्रियकरण गर्नुपर्ने समेत बताए । विरोध कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका सल्लाहकार भूपेन्द्र चेम्जोङले मुलुकका हरेक क्षेत्रमा समावेशिताको अभ्यास र प्रक्रिया शुरु भएकाले ९८ प्रतिशत आदिवासी जनजाति रहेको हङकङमा आदिवासी जनजाति मूलका महावाणिज्यदूतको माग राख्नु स्वभाविक रहेको दाबी गरेका थिए । संघर्ष समितिका अध्यक्ष भक्त दुराले जनजाति मूलको महावाणिज्य दूत माग गरिएको लामो समय भइसकेकाले अब कडा पाइला चाल्न आवश्यक रहेको बताए । उनले संघर्षको विकल्प नभएको भन्दै आन्दोलनका लागि सम्पूर्णलाई आग्रह गरे । कार्यक्रममा जनजाति मूलको वाणिज्य दूतको माग गर्दै १३ सदस्यीय संघर्ष समितिको घोषणासमेत गरिएको छ । उक्त समितिमा भक्त दुरा, भूपेन्द्र चेम्जोङ, नरहाङ राई, किसन राई, दुर्गा तामाङ, त्रिभुवन लुङफुङवा, शशिमदन राई, विसन गुरुङ, बोधविक्रम थापामगर, युवराज गुरुङ, यलम्बरहाङ तुम्बापो, तिलक सोमैमगर र किरण लिवाङ रहेका छन् । संघर्ष समितिले पहिलो चरणमा सोमबार हस्ताक्षर संकलन गर्ने, मंगलबार महावाणिज्यदूतावासमा नियुक्ति बदरको मागसहित विरोधपत्र बुझाउने र शुक्रबारदेखि धर्ना शुरु गर्ने जनाएको छ । महासंघको मागलाई वेवास्ता गरी दाहाल हङकङ आए एयरपोर्टदेखि नै विरोध गरिने र उनको काम कारवाहीमा वाधा व्यवधान खडा गरिने जानकारी समेत कार्यक्रममा गराइएको छ । दुईवर्ष ११ महिना हंगकंग बसेर नेपाल फर्केका निवर्तमान महावाणिज्यदूत विनोदकुमार उपाध्यायलाई पनि यसैगरी आदिवासी जनजातिले बहिष्कार गरेका थिए । महासंघका किसन राईले अहिलेसम्म हंगकंगमा बाहुनमात्रै बाणिज्य दूत बनेको दाबी गरे । हालसम्म हंगकंगमा प्रदुम्नविक्रम शाह, जैनेन्द्रजीवन शर्मा, माधवप्रसाद घिमिरे, केशवप्रसाद भट्टराई र विनोदकुमार उपाध्याय महावाणिज्यदूत बनिसकेका छन् ।

No comments: