News

Feb 21, 2013

अमेरिका-चीनबीच साइबर युद्ध सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिङ्टन (एजेन्सीहरू), फाल्गुन ९ - चीनको सेनाले सयौंको संख्यामा क्षमतावान् तथा क्षतिकारक ह्याकरलाई आफ्नो नियन्त्रणमा राखेको दाबी अमेरिकी इन्टरनेट सुरक्षा संस्था म्यानडियान्टले मंगलबार गरेको छ । यस संस्थाले सांघाईको एक भवनमा साइबर आक्रमण गर्ने समूहको केन्द्र फेला पारेको दाबी गरेको छ । उसले गरेको अनुसन्धानमा अमेरिकी समाचारपत्र, सरकारी संस्था तथा कम्पनीको कम्प्युटर चीनबाट ह्याक भएको फेला परेको र चिनियाँ सरकारलाई यस विषयमा जानकारी भएको दाबी गरेको छ । यो ७४ पृष्ठको प्रतिवेदन 'एड्भान्स परसिस्टेन्ट थ्रेट' -एपीटी-१) मा केन्दि्रत छ । ह्याकरहरूको समूहले अमेरिकी ऊर्जा लाइनजस्ता महत्त्वपूर्ण पूर्वाधारलाई आक्रमणको लक्ष्य बनाइरहेको विशेषज्ञहरूले उल्लेख गरेको न्युयोर्क टाइम्सले उद्धरण गरेको छ । म्यानडियान्टले सरकारी सहयोग प्राप्त गरेकाले यस प्रकारको लामो समयको तथा व्यापक साइबर आक्रमण हुन सकेको विश्वास गरिएको उल्लेख गरेको छ । यस समूहले चिनियाँ जनमुक्ति सेनाको ६१३९८ नाम गरेको एक एकाईको यस्तो आक्रमणमा सहयोग रहेको जनाएको छ । सांघाईको बाहिरी भागमा रहेको बाह्र तलाको एक भवनबाट आक्रमण भएको देखिएको विश्वास गरिएको उल्लेख गरेको छ । प्रतिवेदनमा उपलब्ध गराइएको प्रमाणले एपीटी-१ उक्त ६१३९८ एकाई भएको दाबीलाई पुष्टि गर्ने उल्लेख गरिएको छ । यस एकाईमा सयौं तथा सम्भवतः हजारौं कर्मचारीले काम गर्ने अनुमान गरिएको छ । चीनको रक्षा मन्त्रालयले आफ्नो सेनाले कुनै पनि ह्याकिङ क्रियाकलापलाई सहयोग नगरेको दाबी गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी चिनियाँ सेना ह्याकिङमा संलग्न भएको समाचार सत्य नभएको उल्लेख गरिएको छ । विज्ञप्तिमा ह्याकिङ विश्वव्यापी समस्या भएको र अन्य मुलुकले झै चीनले पनि यस प्रकारको ह्याकिङको समस्या भोगेको जनाइएको छ । चीन ह्याकिङ आक्रमणको प्रमुख पीडित पक्ष भएको दाबी गरेको छ । चीनको विदेश मन्त्रालयले विदेश र विशेष गरी अमेरिकाबाट हुने ह्याकिङको प्रमुख पीडित मुलुक भएको उल्लेख गरेको छ । अमेरिकाका न्युयोर्क टाइम्स, वाल स्टि्रट जर्नल तथा टि्वटर जस्ता आमसञ्चार संस्थामा सूचना प्रविधिको आक्रमण भएको तथा उनीहरूले चिनियाँ ह्याकरहरूमाथि आरोप लगाउने गरेको बताइन्छ । टाइम्सले ह्याकरले संस्थाको पासवर्ड चोरेको तथा ५३ वटा कर्मचारीको व्यक्तिगत कम्प्युटरमा ह्याक गरिएको दाबी गरेको छ । यसअघि यस संस्थाले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पारिवारिक सम्पत्तिको विषयमा समाचार प्रकाशन गरेको थियो । टाइम्स जस्ता संस्थाले आफ्नो कम्प्युटरमा देखिएको समस्या समाधान गर्न म्यानडियान्टलाई काममा लगाएको थियो । म्यानडियान्टले एपीटी-१ ले पत्रिकाको टिप्पणी लेख्ने स्थानमा भाइरस छोड्ने गरेको र त्यसका आधारमा २० औद्योगिक क्षेत्रका १४१ संस्थाका अनेकौं टेराबाइट तथ्यांक चोरेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी ह्याक गर्ने व्यक्तिलाई कमेन्ट क्र्युको नाम दिइएको छ । टाइम्सलाई प्रतिवदेन उपलब्ध गराइएको छ र प्रतिवेदनमा ह्याकरहरूले अमेरिकी विद्युतीय ऊर्जा लाइन, ग्यास लाइन तथा पानीका संरचनाको कम्प्युटरलाई लक्ष्य बनाइरहेको उल्लेख गरिएको छ । यस्तो एक लक्षित कम्पनीले मुलुकको उत्तरी भागमा ६० प्रतिशत तेल तथा ग्यास आपूर्ति गरिरहेको यस पत्रिकाले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो संघीय भाषणमा अमेरिकी महत्त्वपूर्ण संरचनामा बाहिरबाट हुने आक्रमण प्रमुख चिन्ताको विषय भएको बताएका थिए । आक्रमणको प्रमुख स्रोत भवन सांघाईको गाओकियाओमा एक पेट्रोकेमिकल भवनको नजिकै छ ।

No comments: