News

Feb 14, 2013

२०१३ को अन्त्यसम्ममा ३४ हजार अमेरिकी सेना फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिंटन,२ फागुन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१३ को अन्त्यसम्म अफगानिस्तानबाट ३४ हजार अमेरिकी सेना फिर्ता गरिसक्ने घोषणा गरेका छन् । सन् २०१४ को अन्त्यसम्ममा अफगानिस्तानबाट अमेरिकाले सबै सैनिक फिर्ता गरिसक्ने पनि ओबामाले घोषणा गरे । हाल अफगानिस्तानमा ६६ हजार अमेरिकी सेनासहित एक लाखभन्दा बढी नेटो गठबन्धन सैनिक कार्यरत छन् । ती देशले पनि अफगानिस्तानबाट आगामी सन् २०१४ सम्ममा सम्पूर्ण सैनिक फिर्ता गरिसक्ने घोषणा यसअघि नै गरिसकेका छन् । २०१४ पछि अफगान सेनालाई सहयोग तथा सल्लाह दिन केही अमेरिकी सेना अफगानिस्तानमै रहने ओबामाले उल्लेख गरे पनि संख्या भने तोकेनन् । यस विषयमा गत जनवरीमा अफगान राष्ट्रपति हमिद कारजाई र अमेरिकी राष्ट्रपति ओबामाबीच सहमति भइसकेको छ । २०१४ मा अमेरिकीलगायत नेटो सैनिक फिर्तासँगै अफगानिस्तानमा युद्ध पूरा भएको घोषणा हुने अमेरिकाले जनाएको छ । सन् २००१ बाट अफगानिस्तानमा अमेरिकी सैनिक प्रवेश गरेको थियो । सो समयदेखि हालसम्म अफगानिस्तानमा अल कायदासम्बद्ध आतंककारी एवं तालिबानहरूको प्रभाव घटेको अमेरिकाले दाबी गरेको छ । तर, जारी हत्या र आक्रमणका घटनाले अफगानिस्तानमा तालिवानको प्रभाव घटेको देखिँदैन । अफगानिस्तानबाट सवै बिदेशी सैनिक फिर्ता भएपछि २०१५देखि अफगानिस्तानको विकास तथा सुरक्षाका लागि प्रत्येक वर्ष १६ अर्ब डलरका दरले सहयोग गर्ने प्रतिबद्धता दाता राष्ट्रले यसअघि नै जनाएका छन् । अफगानिस्तानको सुरक्षा तथा विकासका लागि केही समयअघि जापानको राजधानी टोकियोमा भेला भएका ८० मुलुकका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । । अफगानिस्तान अर्थतन्त्र दातृ निकायक तथा सैनिक सहायता कोषको रकममा निर्भर रहँदै आएको छ । यसैगरी अफगानिस्तानको कुल गार्हस्थ उत्पादनको ९५ प्रतिशत विदेशी सहयोगमा निर्भर रहँदै आएको विश्व बैंकले जनाएको छ । गत मेमा अमेरिकाको सिकागोमा भएको नेटो सदस्य राष्ट्रको सम्मेलनले २०१५ देखि २०१७ सम्म अफगानिस्तानको सुरक्षा तथा विकासका लागि प्रत्येक वर्ष ४.१ अर्ब अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।

No comments: