News

Feb 21, 2013

पूर्वयुवराज पारस शाह अझै अचेत अवस्थामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १० हृदयघातले गम्भीर अस्वस्थ पूर्वयुवराज पारस शाह अझै अचेत अवस्थामा छन्। उनको स्वास्थ्यमा 'आशा गर्न सकिने' सुधार आएको छैन। आज चिकित्सकहरुले अर्को सिटी स्क्यान गर्दैछन्। अचेत अवस्थामा रहेका उनको बैंककस्थित समतिभेद सुनाकरिन अस्पतालमा उपचार जारी छ। हिजो गरिएको टाउकोको सिटीस्यानमा गम्भीर समस्या देखिएको थिएन। अस्पतालस्रोतका अनुसार परीक्षणमा उनको दिमागी अवस्था बन्द नभएको देखिएको छ। बुधबार बिहान आँखाको ढकन केही हल्लिएझैँ देखिए पनि होस खुलेको थिएन। मंगलबार बेलुका सिसियु भर्ना गरिएका उनको अवस्था बुधबार पनि स्थिर रहेको चिकित्सकलाई उद्धृत गर्दै थाइल्यान्डका लागि कार्यबाहक नेपाली राजदूत डोरनाथ अर्यालले जानकारी दिए। ४२ वर्षीय पारसलाई मंगलबार बेलुका हृदयघात भएको थियो। बुधबार सिटीस्क्यानमा बढी क्षति नदेखिएको, तर उनी होसमा नआएसम्म केही भन्न नसकिने जनाएको अर्यालले नागरिकलाई फोनमा बताए। राजदूत अर्याल बुधबार दिउँसो पारसको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। 'बिहान भेट्न गएको थिएँ, होसमा छैनन्,' उनले नागरिकसँग भने, 'चिकित्सकले टाउकोमा जटिल समस्या नदेखिए पनि अहिले नै केही भन्न सकिन्न भने।' बैंककमा थाई युवती र गैरआवासीय नेपाली संघका सचिव सुनिल खड्कासँगै बस्दै आएका उनलाई मंगलबार नेपाली समयअनुसार बेलुका आठ बजे हृदयघात भएको थियो। उनलाई थाई सहयोगी कन्निका चाइसानले बैंककको अस्पताल पुर्‍याएकी थिइन्। सुरुमा आइसियुमा उपचार गर्दा अवस्था सुधार नभएपछि चिकित्सकले सिसियुमा राखेर उपचार गरिरहेका छन्। बुधबार बेलुनको सहायताले उनको मुटुको भल्ब खोल्ने चिकित्सकको प्रयास पनि सफल भएन। उपचारमा सहयोग गरिरहेका खड्काका अनुसार चिकित्सकले मंगलबारको तुलनामा बुधवार थोरै सुधार आएको बताएका छन्। तर, एमआरआई रिपोर्ट नआएसम्म यकिन केही बताउन नसकिने चिकित्सकलाई उद्धृत गर्दै खड्काले बताए। उनका अनुसार थप उपचारका लागि अस्पताल परिर्वतन गर्ने तयारी गरिएको छ। सिनाखारिदमा रहेको समतिभेद अस्पतालबाट सोही अस्पतालको सुकुम्भित शाखामा लैजाने तयारी गरिएको उनले जानकारी दिए।

No comments: