News

May 23, 2008

गणतन्त्र पाँच दिन बाँकी रहँदा राजा ज्ञानेन्द्रको अन्तिम छटपटाहट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र नेपालको विधिवत घोषणा गर्न मात्र पाँच दिन बाँकी रहँदा राजा ज्ञानेन्द्रको अन्तिम छटपटाहट सुरु भएको छ । नारायणहिटी छोडी नागार्जुन पुगेर गणतन्त्रको भवितव्यबाट कसरी जोगिन सकिन्छ भनी तानावाना बुन्न व्यस्त राजा ज्ञानेन्द्रकै आग्रहमा उनकै एक मात्र छोरी ज्वाईं राजबहादुर सिंहले माओवादी अध्यक्ष प्रचण्डसँग बिहीबार भेटवार्ता गरेको समाचार छ । आवश्यकता पर्‍यो भने राजा ज्ञानेन्द्रसँगै वार्ता गर्न तयार रहेको बताउँदै राजाका सहयोगीसँग भेटवार्ता गर्दै आएका प्रचण्डले बिहीबार राजाका ज्वाईंसँग रसुवाको एक होटलमा वार्ता गरेको स्रोतको दाबी छ । संविधानसभाको जेठ १५ गते बस्ने पहिलो बैठकबाट राजालाई फ्याँक्दै गणतन्त्रको घोषणा गर्ने तयारी भइरहेका बेला राजाले आफ्ना सबै संयन्त्र प्रयोग गर्दै साढे दुइ सय वर्षेखिको विरासत जोगाउने प्रयास गरिरहेका छन् ।
राजालाई फाँसी दिनुपर्छ भन्ने माओवादीका नेताहरु पछिल्लादिनमा सम्मानजनक बर्हिगमन तथा सांस्कृतिक अधिकार र भत्ताको समेत व्यवस्था गर्ने कुरा गर्न थालेका छन । कमल थापाजस्ता शाही मतियारलाई जेल हाल्नुपर्छ भनिएकाहरूसँग माओवादीको गोप्य भेटवार्ता हुन थालेपछि जेठ १५ गते साँच्चै गणतन्त्रको घोषणा हुन्छ भन्ने विषयमा आशंका समेत बढेर गएको छ । स्रोतले दिएको जानकारीअनुसार बिहीबार रसुवाको अन्नपूर्ण होटलमा प्रचण्ड-राजबहादुरबीचको भेटवार्ताका क्रममा राजाका तर्फाट सेरेमोनियल राजाको रूपमा आफू बस्न तयार रहेको अथवा त्यो सम्भव नभए प्रथम राष्ट्रपतिको निम्ति सहयोग गर्न प्रस्ताव अघि सारिएको बताइएको छ । संविधान संशोधन नगरी गणतन्त्रको घोषणा भए संवैधानिक संकट उत्पन्न हुन सक्नेतर्फसचेत गराउँदै राजालाई सहयोग गरे राजाले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी माओवादीको साथ दिने बचन दिएको जनाइएपनि माओवादीका तर्फाट कस्तो प्रक्रिया रहृयो खुल्न सकेको छैन । यद्यपि, वार्ता सकारात्मक ढंगबाट अगाडि बढेको बुझिएको छ । बिहीबार बिहान डाइनेष्टी एयरलाइन्सको हेलिकप्टर चार्टड गरी धुन्चे पुगेका प्रचण्ड र राजबहादुर सिंहबीच एक घन्टा वार्ता भएको र उक्त वार्तामा माओवादी केन्द्रीय सदस्य अग्नीप्रसाद सापकोटा र केही सहयोगी रहेका थिए भने सिंहका साथमा उनका विजनेस पार्टनर अजय सुमार्गी (जो राजाको कानुनी सल्लाहकारसमेत हुन) रहेको जनाइएको छ । वार्तापछि सुमार्गीको विवादास्पद हिमालय नेचुरल मिनरल उद्योग तथा चिलिमे जलविद्युत् आयोजनाको समेत भ्रमण गरिएको समाचार स्रोतले जनाएको छ । माओवादीको राजासँग घाँटी जोडिएको आरोप लागिरहेका बेला प्रचण्ड र राजाका दूतसँग पटकपटक हुने गोप्य एवम् रहश्यमय भेटवार्ताले आरोपलाई थप बल पुर्‍याएको छ । हाल नागार्जुनस्थित दरबारमा बस्दै आएका राजा ज्ञानेन्द्र आफ्नो विरासत जोगाउन गरेको पहल कति प्रभावकारी हुन्छ । पाँच दिनसम्म कुर्नुपर्ने भएको छ । यसैबीच, जेठ १५ गते उर्लने जनउभारले नारायणहिटी दरबार कब्जा गर्न सक्ने आशंकामा नारायणहिटीको सुरक्षार्थ पाँचवटा सुरक्षा घेरा बनाउनुका साथै विद्युतीय गेट र ट्याकसमेत तैनाथ गरिने बताइएको छ । उक्त दिन राजधानीका धेरै स्थान प्रवेश निषेध तोकिने तयारी भइरहेको बुझिएको छ ।

No comments: