News

May 26, 2008

राजनीतिक सहमतिका लागि ९ बुँदामा छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले राजनीतिक सहमतिका लागि पेस गरेको ९ बुँदामा तीन दलबीच छलफल हुदैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीचको छलफल माओवादीका ९ प्रस्तावमा केन्द्रित छ । श्रोतका अनुसार, माओवादी प्रस्तावको सारसंक्षेप यस प्रकार छ । गणतन्त्रको कार्यन्वयन दिन जेठ १५ गते सरकार र दलहरुको तर्फबाट बिशेष कार्यक्रम ल्याउने । राजनीतिक दलहरुबीच बिश्वासको वातावरण बढाउन बिगतका शान्ति सम्झौता, २३ बुँदे सहमति लगायत जनजाति र मधेशीसँगको सम्झौता र सहमति कार्यन्वयन गर्ने । कुटपिट, हत्या नगर्ने, शान्ति सुरक्षाको स्थिति सुदृढ पार्ने र वाईसीएलको सैनिक चरित्र अन्त्य गरि त्यसलाई पूर्णरुपमा राजनीतिक चरित्रको संगठन बनाउने । माओवादी जनमुक्ति सेनालाई शान्तिसम्झौता अनुसार राज्यको सुरक्षा बलमा समायोजन गर्ने । गिरिजाप्रसाद कोइरालालाई सम्मानित नेता बनाउने तथा उनलाई संरक्षकको भूमिका दिने । गणतन्त्र कार्यन्वयनपछि पनि प्रधानमन्त्रीले नै राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अहिलेको संवैधानिक ब्यवस्था कायम राख्ने । नयाँ सरकार गठनका लागि अन्तरिम संविधानमा ब्यवस्था गरिएको दुई तिहाई बहुमत आवश्यक पर्ने संवैधानिक प्रावधानलाई निरन्तरता दिने । नयाँ सरकारमा पार्टीहरुले तुलनात्मक हैसियतका आधारमा भाग पाउने । पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउने । माओवादीले प्रस्तुत गरेको ९ बुँदामा संविधान संशोधन नगर्ने उल्लेखित केही बुँदाबाहेक बिबादस्पद नभएको श्रोतले बताएको छ । दलहरुबीच राजनीतिक सहमति नबने पनि आजको छलफलले गणतन्त्र कार्यन्वयनको दिन सरकार र दलहरुले बिशेष कार्यक्रम ल्याउने बुँदामा भने सहमति गर्ने श्रोतको दावी छ ।

No comments: