News

May 11, 2008

केराको बोट र पुरानो ब्याट्रीबाट बिजुली

लिम्वूवान डट व्लगस्पोट डटकम,बागलुङ,
बागलुङ जिल्लाको भीमापोखरा गाविसका बासिन्दाले केराको बोट र पुराना ब्याट्रीबाट बिजुली बत्ती बालेका छन्। केराको बोट, गाउँघरमा प्रयोग गरी फयाँकिएका ब्याट्री र गोबरको संयुक्त मिश्रणबाट उत्पादित सो विद्युत्बाट सो गाविसका वडा नं. ६ र ७ का ८० परिवार लाभान्वित भएका छन्।स्थानीय खिम कार्की, प्रजापति पौडेल र तेजेन्द्र थापाले संयुक्त रूपमा केराको बोट र पुराना ब्याट्रीबाट विद्युत् उत्पादनको सफल परीक्षण गरेपछि ती दुइ वडाका घरघरमा बिजुली बाल्न शुरू गरिएको हो। केराको बोटबाट निकालिएको विद्युत् गोबरबाट उत्पादन गरिएको भन्दा चहकिलो, सजिलो र आर्थिक अवस्था कमजोर भएकालाई सस्तोसमेत पर्ने खिम कार्कीले बताउनुभयो। केराको बोटबाट विद्युत् उत्पादन हुन थालेपछि केराको बोट रोप्ने कार्य शुरू गरिएको जानकारी दिँदै उहाँले केराको बोटको विकल्पमा खन्युको चोपबाट पनि विद्युत् उत्पादन गर्न सकिने जानकारी दिनुभयो। केराबाट उत्पादित विद्युत्बाट रेडियो, टेपरेकर्डर र टेलिभिजन पनि सजिलै चलाउन सकिने प्रजापति पौडेलले बताउनुभयो।नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनबाट बिजुली बाल्न नपाएका दुर्गम गाउँका जनताका लागि यो प्रविधि उपयुक्त हुने भएकाले प्रचारप्रसार गर्नुपर्ने आवश्यकता पनि उत्पादक खिम कार्कीले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो- यो प्रविधिले इन्धनको प्रयोगमा कमी ल्याई वातावरण र मानवीय स्वास्थ्यमा अनुकूल प्रभाव पार्नेछ।’

No comments: