News

May 24, 2008

राजालाई नारायणहिटी छोडाउने नाटकको पर्दाफास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आउँदो १५ गते के होला भनेर विभिन्न कोणबाट विभिन्न अड्कल काट्ने कार्य भइरहँदा जनआन्दोलन भाग २ का मुख्य अपराधीको लिस्टमा परेका नेपाल प्रहरीका निलम्बित दुइ एआईजी कृष्ण बस्नेत र रुपसागर मोक्तानलाई सफाइ मिलेको छ । अस्ती बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुबै एआईजीलाई खोसीएको बर्दी र जिम्मेवारी फिर्ता गरेको हो । यद्यपि, यसको औपचारिक जानकारी भने बैठकमा सहभागि कसैले पनि गर्ने आँट गर्न सकेका छैनन् ।
राजाको तत्कालिन निरंकुश सत्ता सञ्चालन अवधिमा नाटकिय रुपमा एआईजी बनेका तत्कालिन उपत्यका प्रहरी प्रमुख कृष्ण बस्नेतले सोही गुन तिर्न आन्दोलनकारीमाथि बर्बर यातना दिन प्रहरी सञ्चार सेटबाटै मातहतका अधिकारीलाई आदेश दिएका थिए । 'सालेहरुलाई, फेरि आउनै नसक्ने गरी ठोक न !' भन्दै सेटबाटै खोक्ने निलम्बित एआईजी बस्नेतमाथि ज्यान मुद्दा लगाउनु पर्ने आवाज उठीरहेका बेला सरकारले पुनः जिम्मेवारीमा फर्काएको छ । यसैगरी, गंगोबुमा भएको आन्दोलनमा शाही सत्ता जोगाउन आफ्नो घरलाई सेल्टर बनाउन लगाएका अर्का दमनकारी एआईजी रुपसागर मोक्तानको घरबाट आन्दोलनकारीमाथि गोली चलाइएपछि उनीसमेत सोही कारण निलम्वनमा परेका थिए ।
राजाको निगाहामा एआईजी भएका दुबै एआईजीमाथि कडा कारवाहीको माग जनताबाट भइरहेको र जनआन्दोलन दबाएको भन्दै आयोगले समेत कारवाही सिफारिस गरेका उनीहरुलाई राजालाई नारायणहिटी छोडाउन दबाब परिरहेका बेला सफाइ दिइनुले थप रहश्य जन्माएको छ ।
स्रोतका अनुसार पन्ध्र गते राष्ट्रको कार्यकारी भूमिका समेत निर्वाह गरिरहेका बर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजीनामा दिने मनस्थितिमा पुगेकाले छोरी सुजाताको आग्रहपूर्ण दबाबमा यस्तो निर्णय गरिएको बताइएको छ । जनही पचास लाखका दरले रकम बुझेर मण्डिखाटारको दबाबमा गरिएको भनिएको यो निर्णय प्रति स्वयम् गृहमन्त्री कृष्ण सिटौलासमेत असन्तुष्ट रहेको बताइएको छ । जनआन्दोलनको सफलतासँगै देशविदेशमा समेत प्रतिष्ठाको उचाइमा रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यदि साँच्चिकै छोरी सुजाताको दबाबमा यस्तो गलत निर्णय गरेका भए उनको राजनैतिक भविष्य यसै निर्णय सँगै समाप्त हुने निश्चित छ ।
नेपाल प्रहरीको पुनः जिम्मेवारी तोकिएका दुबै एआईजी जनआन्दोलतको सफलतासँगै निलम्वनमा परे पनि प्रहरी ऐनअनुसार ६ महिनाभन्दा बढी निलम्वनमा राख्ने कानुनी प्रावधान नरहेकाले यसअघि गृहमन्त्रालयमा हाजिर गर्दै आएका थिए ।
उता, दमनकारी सुरक्षा अधिकारीलाई पुनः जिम्मेवारीमा फर्काइनुले नेपाल प्रहरीभित्र उथलपुथल हुने आशंका गरिएको छ । एक साथ निलम्वनमा परेका अर्का एआईजी राजेन्द्रबहादुर सिंहले भने सेवाअवधि पूरा भएकाले अवकाश पाइसकेका छन् । उनलाई माओवादीले गृहराज्यमन्त्री या सुरक्षा सल्लाहकारमा लैजाने हल्ला चलाउन थालिएको छ भने अर्का अवसरबादी पूर्व आईजी मोतीलाल बोहोरा नेपाल प्रहरीको महानिर्देशक बन्न माओवादीको चाकडीमा धाइरहेका छन् ।
ससाना विषयमा ठूलो असहमती गर्ने माओवादीले यत्रो सोच्नै नसकिने निर्णय हुँदा समेत 'चुँ' नबोल्नुले कोही पनि सत्तासीनहरु जनताप्रति प्रतिवद्ध छन् भन्ने विश्वासको आधार हटेर गएको छ । साथै, राजालाई नारायणहिटीबाट हट्न दिएको धम्की पनि हल्लै मात्र त होइन आशंका बढेको छ ।

No comments: