News

May 23, 2008

संविधानसभाको निर्णय नमाने राजा ज्ञानेन्द्रलाई मुद्धा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाको निर्णय नमाने राजा ज्ञानेन्द्रलाई मुद्धा चलाएर कारवाही गरिने माओवादी सचिवालय सदस्य सिपी गजुरेलले चेतावनी दिएका छन् 
माओवादीका केन्द्रीय सचिवालय सदस्य सिपी गजुरेलले संविधानसभाको निर्णय मान्दै राजा ज्ञानेन्द्रले सहजरुपमा दरवार छाडे सम्मानित नागरिक भएर बस्न पाउने अन्यथा उनलाई मुद्धा चलाइने बताएका छन् । जेठ १० गते राजधानीमा रिपोर्टस क्लबद्वारा आयोजित कार्यक्रममा बोल्दै गजुरेलले राजाको बहिर्गमनलाई सजिलो बनाउन पार्टी अध्यक्ष प्रचण्डले दरवार नजिककाहरुसँग भेटघाट गरिरहेको उल्लेख गरे । गजुरेलले कार्यक्रममा तत्काल अन्तरिम संविधान संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारे । 'अहिले संविधान संशोधन गर्ने हो भने बिभिन्न समुदाय संशोधनको पक्षमा आउन सक्छन् र मुख्य मुद्धा ओझेलमा पर्न सक्छ' गजुरेलले भने । राष्ट्रपति र प्रधानमन्त्री एउटै पार्टीको तथा एउटै मानिस बन्न सक्ने पनि गजुरेलको भनाइ थियो । नेपाली कांग्रेसका उपसभापति गोपालमान श्रेष्ठले सहमतिको राजनीति अघि बढाउने तथा सहमतिको सरकार बनाउने हो भने संविधान संशोधन गर्नुपर्ने धारणा राखे । एउटै दलको राष्ट्रपति तथा प्रधानमन्त्री बन्नु नहुने पक्षमा आफ्नो पार्टी रहेको पनि श्रेष्ठले उल्लेख गरे । माओवादीले नेपाली कांग्रेसको समर्थन चाहने हो भने आफ्ना सात शर्तको अध्ययन गर्नुपर्ने तथा पूरा गर्नुपर्ने पनि उनको भनाइ थियो । 'सरकार गठन गर्न प्रधानमन्त्रीले १५ दिन पहिले नै आह्वान गरिसक्नुभएको हो, जुनसुकै बेला पद छाड्न प्रधानमन्त्री तयार हुनुहुन्छ' श्रेष्ठले भने । कार्यक्रमका अर्को वक्ता एमाले केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले जेठ १५ गते गणतन्त्र दिवस मनाइनुपर्ने तथा दरवारमा रहेको राजाको झण्डा हटाएर राष्ट्रिय झण्डा राख्नुपर्ने बताए । सरकारको नेतृत्व माओवादीले गर्ने निश्चित भए पनि कसैले एकल सरकार गठन गर्नसक्ने अन्तरिम संविधानमा ब्यवस्था नभएकाले माओवादीले एकल सरकार गठन गर्ननसक्ने उल्लेख गरे । 'सरकार गठनबारे माओवादीको प्रस्ताव कस्तो हुन्छ त्यसै आधारमा एमालेले सरकारमा जाने या नजानेबारे निर्णय गर्नेछ, एमाले अहिले शक्ति वाँडफाँडमा केन्द्रित छैन' ज्ञवालीले भने । कार्यक्रममा राष्ट्रिय जनशक्ति पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र लोहनी, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमराज पण्डितलगायतकाले पनि बोलेका थिए ।

No comments: