News

May 10, 2008

सात दलिय बैठकमा कोइरालालाई प्रथम राष्ट्रपति बनाउने सैद्धान्तिक सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
राष्ट्रिय सेना र विद्रोही लडाकुको सुप्रिमो एउटै व्यक्ति हुनुहुँदैन तथा वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई सम्मानजनक स्थान दिइनुपर्ने लगायतका आवाजहरू उठिरहेका सर्न्दर्भमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपतिका रुपमा गिरिजाप्रसाद कोइराला प्रस्तावित भएको समाचार प्राप्त भएको छ ।सात दलिय गठबन्धन उच्चस्रोतका अनुसार नयाँ सरकारको गठन, संविधानसभाको वैठक तथा त्यसका एजेन्डा तय जस्ता विभिन्न विषयमा छलफल गर्न शुक्रबार बसेको सात दलिय बैठकमा गिरिजाप्रसाद कोइरालालाई प्रथम राष्ट्रपति बनाउने सैद्धान्तिक सहमति भएको बताइएको छ । यद्यपि, त्यसप्रकारको सहमति यसअघि कोइराला र प्रचण्डबीच भएका पटक-पटकका वार्तामा नै टुङ्गएिको स्रोतको दावी छ । संविधानसभाको निर्वाचन पश्चात ठूलो दलका रुपमा स्थापित माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने जिकिर गरिरहेको तथा राष्ट्रिय अन्तर्रराष्ट्रिय माहौल प्रतिकुल भएको हुँदा प्रचण्ड आफ्नो अभिभावकमा कोइरालालाई राख्ने मनस्थितिमा थिए । कोइरालालाई 'टावर फिगर' का रुपमा स्वीकार गर्दै आएका उनले सत्ताको गाँठो फुकाउन यस किसिमको सहमति गरेको अनुमान विश्लेषकहरूको छ ।
माओवादीको घोषणापत्रमा कार्यकारी अधिकार सम्पन्न राष्ट्रपति बनाउने एजेन्डा रहे पनि गिरिजाप्रसाद कोइरालाको हकमा भने उनी सेरेमोनियल राष्ट्रपति तथा प्रचण्ड कार्यकारी अधिकार प्राप्त प्रधानमन्त्री बनाउने राजनीतिक सहमति गरिएको जनाइएको छ । भर्खरै सम्पन्न संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको सभापति भइकन पनि गिरिजाप्रसाद कोइरालाले तटस्थ भूमिका निर्वाह गरेकाले विपक्षी दलहरूको मन जिन्त सफल भएका छन् । राजनीतिक सहमतिका क्रममा कांग्रेस अर्थात गिरिजाप्रसाद कोइरालालाई सेरेमोनियल राष्ट्रपति, माओवादी (प्रचण्ड) लाई कार्यकारी प्रधानमन्त्री तथा एमाले (सुवासचन्द्र नेम्वाङ्ग) संविधानसभा अध्यक्ष बनाउने निर्णय भएको थियो ।
एक अर्को स्रोतका अनुसार सत्ताको लुछाचुँडीमा रहेका दलहरूबीच आफ्नै विवेक र इच्छाका कारण यस प्रकारको सहमति भएको नभई भर्खरै नेपाल भ्रमणमा आएका भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता सीताराम यचुरीको गुरुमन्त्रणाका कारण नयाँ राजनीतिक समिकरणको सुत्र फेला परेको बताइएको छ । जेठ १५ गते भित्र संविधनसभाको बैठक बोलाउने तथा जेठभित्रै नयाँ सरकार समेत गठन हुने सहमित भएको छ । नयाँ सरकारमा कांग्रेसको सहभागिता प्रायः निश्चित देखिएको भए पनि एमालेको सहभागिता भने स्पष्ट भएको छैन । स्रोतका अनुसार एमालेले सहमति जनाए एकैपटक सबै दललाई समावेश गरेर सरकार गठन गर्ने त्यसो नभए, तत्काल मओवादीको मत्रै सरकार बनाउने र पछि अरु दलको सहभागिता हुनेछ । अब बन्ने गठबन्धन सरकारमा हाल कांग्रेसको भूमिकामा माओवादी रहने तथा माओवादीको भूमिकामा कांग्रेस रुपान्तरण भई मन्त्रालयको भागवण्डा गर्ने स्रोतले बतायो । सरकारमा कांग्रेसले नयाँ अनुहार पठाउने तयारी गरेको समेत बुझिएको छ । सिङ्गो कार्यकर्ता पंक्तिले कांग्रेस नेतृत्वलाई सरकारमा सहभागी नहुन चर्को दवाव दिइरहेको अवस्थामा कांग्रेस सरकारमा जाने तयारी गरिरहेको छ । नेकपा माओवादी र्सवसत्तावादको मनोभावबाट ग्रसित भएको र केही संवैधानिक जटिलताका कारण माओवादीमा अधिनायकवादको जन्म हुने त्रास रहेको विश्लेषण गर्दै एक्लै माओवादीलाई सरकारमा पठाउन नहुने कांग्रेसले ठहर गरेको बुझिएको छ । यद्यपि यसबारे विस्तृत निर्णय आज बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले गर्नेछ ।
शुक्रबार बसेको सात दलको बैठकमा निर्वाचनपश्चात आएका नयाँ राजनीतिक पार्टीलाई समेत समावेश गरेर एउटा कार्यदल बनाउने तथा त्यस कार्यदलले संविधानसभाको बैठकको एजेन्डा तय गर्ने बताइएको छ । त्यसबाहेक यही सरकारले राजनीतिक सहमतिका आधारमा २६ जनालाई संविधानसभा सभासद्मा मनोनयन निर्णय गरेको छ । अन्य दलले दुबै ठाउँबाट पराजित एमालेका निवर्तमान महासचिव माधव नेपाललाई संविधानसभासद्मा मनोनयन गर्ने प्रस्ताव गरे पनि नेपालले अनिच्छा व्यक्त गरेपछि निर्वाचनमा पराजित व्यक्तिलाई मनोनित नगर्ने सहमति भएको बुझिएको छ । हिजो गठित कार्यदलले संविधानसभा बैठकको कार्यसुचि तथा आगामी सरकार गठनलगायतका विषयमा छलफल गर्ने आजैबाट कार्य प्रारम्भ गर्ने भएको छ । कार्यदलको बैठक आज साँझ शान्ति तथा पुननिर्माण मन्त्रालयमा बस्ने जनाइएको छ ।

No comments: