News

May 8, 2008

कार्यक्रम सञ्चालन गर्न नसकेपछि रकम बाँडफाँड

लिम्वूवान डट व्लगस्पोट डटकम, गाईघाट
जनजाति उत्थानका लागि उदयपुरमा निर्धारित विभिन्न कार्यक्रम सञ्चालन गर्न नसकेपछि आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्, उदयपुरले जातीय संस्थाहरूलाई रकम वितरण गरेको छ । उदयपुर जिल्ला विकास समितिको सहयोगमा सञ्चालन गरिनुपर्ने रेडियो जनजागरण कार्यक्रम, आदिवासी जनजाति साँस्कृतिक महोत्सव र आदिवासी जनजाति सशक्तीकरण परियोजनाको सहयोगमा सञ्चालन गरिने संविधानसभा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न नसकेपछि महासङ्घका कार्यवाहक अध्यक्ष लीलाराज तामाङले गैरकानुनी तवरले रकम वितरण गर्नुभएको हो ।
संविधानसभासम्बन्धी प्रचारप्रसार गर्नका लागि प्राप्त रु.४० हजारमध्ये दश जातीय संस्थालाई रु.एक/एक हजारको दरले रकम बाँडिएको र बाँकी रकम अध्यक्ष तामाङ र सचिव सुवास किरातीले काठमाडौ आउँदा जाँदाको बाटो खर्च भनी बाँडेर लिएको एक सदस्यले बताए । यसैगरी रेडियो जनजागरण कार्यक्रम र साँस्कृतिक महोत्सव सञ्चालन गर्न नसकेपछि अध्यक्ष तामाङले कार्यक्रमबापत विनियोजित सम्पूर्ण रकम जातीय संस्थालाई बाँड्न लागेको संस्थाका सदस्य रेनु बोटेले बताए ।
पर्ूव निर्धारित कार्यक्रम सञ्चालन गर्ननसक्दा जिविसको सहयोगमा महासङ्घले सञ्चालन गरिरहेको जनजाति उत्थान परियोजनाको रू.आठ लाख दुरूपयोग भइरहेको राससले जनाएको छ । जिविस र महासङ्घबीच भएको पूर्ण सम्झौताबमोजिम कार्यक्रमहरू परियोजना सञ्चालन भइसकेपछि जिविसको सहमतिबिना महासङ्घले मात्र रद्द गर्न नहुने जिविस, उदयपुरका कार्यक्रम अधिकृत राजकुमार खड्काले बताउनु भयो ।

No comments: