News

May 11, 2008

नयाँ सरकार गठन गर्न प्रधानमन्त्री-प्रचण्ड भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं,
संविधानसभा निर्वाचित दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आगामी दिन नयाँ संविधान लेख्ने चुनौतीसँग जुध्न आपसी मतभेद बिर्सन नयाँ नेपाल निर्माणका लागि नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
संविधानसभामा निर्वाचित दलहरूको सम्मानमा बालुवाटारमा आयोजित चियापानमा विगतको विवाद र तिक्तता बर्सिएर सहिदको भावना राष्ट्रको माटोलाई सम्झँदै लेखिने नयाँ संविधानका लागि एकता अपरिहार्य भएको बताउनुभयो । निर्वाचनपछि उदाएका नयाँ शक्तिहरूसँग आपसी सहयोगका लागि विश्वासको वातावरण बनाउन रहेकोमा पनि जोड दिँदै प्रधानमन्त्री कोइरालाले सबै दलसँग आफूले सम्वाद गर्ने बताउनुभयो । चियापान समारोहमा माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकारको गठनका लागि कुनै विवाद नरहेको बताउँदै जनादेशअनुसार गठन हुने दाबी गर्नुभयो ।
पत्रकारको प्रश्नमा नेता प्रचण्डले संविधानको संशोधन आवश्यकताअनुसार हुने बताउँदै सहमतिअनुसार आगामी सरकार चल्ने प्रष्ट पार्नुभयो । प्रचण्डले आगामी सरकार बनाउन एक, दुइ र तीन तिहाईको महत्व छैन, सहमतिले गर्नुपर्दछ भन्दै राष्ट्रपति र प्रधानमन्त्री अलगअलग पार्टीले व्यक्तिहरू हुँदा समानान्तर शक्तिबीच द्वन्द्व बढ्ने तर्क गर्नुभयो । चियापानमा एमाले कार्यवहाक महासचिव अमृतकुमार बोहोराले आगामी एजेण्डा संविधान लेखनमा ध्यान दिनुपर्ने भएकाले सरकार गठनमा आफ्नो पार्टी कुनै महत्व नदिएको बताए । मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादवले अन्तरिम संविधानमा सातदलको नाम उल्लेख भएकाले त्यस्तो संविधानलाई आफूहरूले मान्यता नदिने बताए । उहाँले अन्तरिम संविधानमा अपरिहार्य भएको दाबी गरेका छन् ।
सातदलका नेताहरूबीच सामूहिक छलफलपछि प्रधानमन्त्री कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । छलफलमा भावी सरकारको गठन, संविधान संशोधन, सेना समायोजनका बारेमा छलफल भएको थियो । प्रधानमन्त्री कोइरालाले माओवादीलाई कब्जा भएका नागरिकका सम्पत्ति फिर्ता गर्न र अब आइन्दा त्यस्तो नगर्ने प्रतिबद्धता व्यक्त गर्न आग्रह गर्नुभएको बताइन्छ । प्रम-प्रचण्डको भेटमा माओवादीका डा. बाबुराम भट्टर्राई, कांग्रेसका कृष्ण सिटौला र डा. शेखर कोइराला सहभागी भएका थिए ।

No comments: