News

Oct 23, 2012

रामबहादुर थापाको नेतृत्वमात्रै स्विकार्यः वैद्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक ६ - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले कांग्रेसहितका दलको नेतृत्व नस्विकार्ने स्पष्ट गर्दै भावी प्रधानमन्त्रीको रूपमा पार्टीका महासचिव रामबहादुर थापाको नाम प्रस्ताव गरेका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने- ‘नयाँ सरकारको नेतृत्व गणतन्त्र, संघीयता र राष्ट्रवादी शक्तिले गर्नु पर्ने भन्दै कांग्रेससहितकाको कसैको पनि नेतृत्व हामी मान्दैनौं । हाम्रो पार्टीबाट बादलजीले नेतृत्व गर्नुपर्छ । यो हाम्रो दाबी हो । प्रधानमन्त्री पद कसैलाई टीको लगाएर दिन सकिँदैन ।’ उनले एमाओवादी सरकार छड्दै नछाड्ने र एमाले कांग्रेसले सरकार नभई नहुने भनेर सत्तालाई केन्द्रमा राखेकाले समस्या समाधान नभएको दाबी गर्दै सरकारलाई नै केन्द्रमा राख्दासम्म सहमति बन्नै नसक्ने ठोकुवा गरे । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार हट्नै पर्ने भन्दै उनले अहिले दलहरूबीच सरकार परिवर्तन, नेतृत्व र प्रक्रियाको विषयमा दलहरूबीच छलफलको आवश्यकतामा जोड दिए । संविधानसभाको पुनःस्थापना र निर्वाचन दुवै विकल्पमा आफ्नो पार्टी खुला रहेको भन्दै पुनःस्थापना गर्ने भए संविधानको अन्तरवस्तुमा सहमति गर्नु पर्ने र निर्वाचनमा जाने भए सरकार परिवर्तन गर्नुपर्ने उनको प्रस्ताव थियो । गोलमेच सम्मेलनको अडान राख्दै आएका उनले यसका लागि सर्वोच्च अदालत, राष्ट्रपति र दलहरुबीच छलफल हुनुपर्ने नयाँ प्रस्ताव गरे । यद्यपि उनले अहिलेको संविधानसभाले संविधान बनाउन नसक्ने भएकाले अगाडिको बाटो पहिल्याउन मात्र संविधानसभाको पुनःस्थापना उपयुक्त हुने धारणा राखे । सहमति हुन नसके सडकबाट सरकार परिवर्तन गर्नु र संविधान जारी गर्नुको विकल्प नभएको भन्दै कांग्रेस र एमालेले सडक आन्दोलन सुरु गरे त्यसमा आफ्नो पार्टीको पनि समर्थन हुने स्पष्ट पारे । उनले भने- कांग्रेस र एमाले नाङलो ठटाएर हात्ती तर्साउने योजनामा छन् । मलाई उनीहरूले आन्दोलन गर्लान जस्तो लाग्दैन । यदि सडक आन्दोलन गरे भने हाम्रो समर्थन रहन्छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा टिकिरहन पहिला निर्वाचन र पछि संविधानसभा पुनःस्थापनाको प्रस्ताव राखेको आरोप लगाउँदै भने-२५ वर्षसम्म सत्ता बचाउने रणनीति भएको त प्रचण्डले नै भनिसकेका छन् नि । पार्टीको तर्फबाट हालै प्रधानमन्त्रीलाई बुझाएको ७० बुँदे मागमा केही जटिलता देखिएको भन्दै उनले त्यसलाई परिमार्जन गर्ने तयारीमा आफूहरू रहेको खुलासा गरे । उनले आफूहरू भारतसँग सम्बन्ध बिगार्ने पक्षमा नरहेको उल्लेख गर्दै भारतसँग भएका असमान सन्धी सम्झौता खारेज गरेर नेपाली र भारतीय जनताको हितमा हुने गरी गर्नु पर्ने मा मात्रै रहेको स्पष्ट पारे । एमाओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री आफै सकिएका छन् उनीहरुले हामीलाई केही बिगार्न नसक्ने दाबी गर्दै अब संविधानसभा पुनःस्थापना भए आफूहरूले पनि अलग्गै पार्टीको मान्यता पाउनु पर्ने सहमति पनि हुनु पर्ने बताए । सहमति नभए पुनःस्थापना हुनै नसक्ने उनको ठोकुवा थियो ।

No comments: