News

Oct 10, 2012

एमाओवादीले बनायो महाधिवेशनको कार्यसूची

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असोज २४- एकीकृत नेकपा (माओवादी)ले आफ्नो महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाओवादी पदाधिकारी तथा सङ्गठन विभागको बैठकले पार्टीको माघमा हुने महाधिवेशनको कार्यसूचीलाई अन्तिमरुप दिएको हो। भोलि बस्ने बैठकले त्यसलाई सार्वजनिक गरी जिल्ला जिल्लामा पठाउने एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। उनले आजको बैठकले जिल्ला संयोजक तथा राज्य संयोजकले केही साताअघि आयोजित कार्यशालामा राखेको धारणालाई आत्मसात गर्दै महाधिवेशनको कार्यसूची र अनुमोदनको कार्यविधि तयार पारेको बताए। एमाओवादीको विगत २२ वर्षदेखि हुन नसकेको महाधिवेशनलाई यसअघि तोकिएकै मिति माघ १४ गते गर्ने निर्णयसमेत गरेको छ। बैठकले मुलुकमा राजनीतिक सङ्कट गहिरिँदै गएको भन्दै सङ्कट समाधानार्थ राजनीतिक दलहरुबीच भइआएका वार्ता र छलफललाई तीव्रता दिने निर्णय गरेको छ। नेपाली काँग्रेस र नेकपा (एमाले) राजनीतिक निकासका लागिभन्दा पनि सरकारलाई नै केन्द्रविन्दुमा राखेर अगाडि बढेका कारण सहमति र राजनीतिक निकास निस्कन नसकेको ठहर गर्दै बैठकले सरकारमा रहेका दलहरूसँग पनि छलफल गरेर सोहीअनुरुपको रणनीति तयार गर्ने निर्णय गरेको छ। आजको बैठकमा दलहरूबीच प्याकेजमा सहमति नहुन्जेल वर्तमान सरकारले राजीनामा नगर्ने विषयमा पनि छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए।

No comments: