News

Oct 23, 2012

हङकङका सय बढी जनजाति कार्यकर्ताले पनि एमाले छाडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक ६- दशैँको फुलपातीको दिन हङकङमा सय बढी जनजाति कार्यकर्ताले एमाले परित्याग गरेका छन्। एमाले छाडेका अशोक राईको समूहप्रति समर्थन जनाउँदै 'नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणलाई सार्थक तुल्याउन' पार्टी परित्याग गरेको उनीहरूले आइतबार घोषणा सभामा जनाए। एमाले हङकङ कमिटिका निवर्तमान अध्यक्ष ओमराज सम्बाहाम्फे सहित अहिले कमिटिमा रहेका चन्द्रकला राई, माया राई, नारायणप्रसाद (हेजेन) राई, किसन राईले पार्टी परित्याग गरेका हुन्। एमालेबाट अलग्गिएका दुई सय २१ कार्यकर्तामध्ये ३१ संगठीत सदस्य छन्, जो पूर्व मालेदेखि एमालेमा लामो समय सक्रिय रहेका पूर्वी पहाडका राई, लिम्बु हुन्। एमाले छाडेर 'अग्रगामी विचार समूह हङकङ' बनाएको उनीहरूले जनाएका छन्। हङकङमा एमालेको संगठीत सदस्यमध्ये बहुमतले पार्टी छाडेको दावी गर्दै एमाले परित्याग गर्ने इन्द्र वनेमले आफुहरूले नयाँ पार्टी गठन गर्न अशोक राईलाई सहयोग गर्ने बताए। 'पहिचानलाई राजनीतिक मान्यता दिइनु पर्छ भन्दा हामीलाई जातीय कुरा गर्‍यो भन्ने अहंकारवादीहरूको प्रतिकार हुनेछ', एमाले परित्याग गर्नुको कारण खोल्दै सम्बाहाम्फेले भने, 'माले-एमालेमा लागेर जवानी र उर्जा सिध्याइयो, तर अहिले जाती र समुदायको अधिकार विरुद्ध उभिएपछि एमाले छाड्न बाध्य भयौँ।' 'एमाले छाडेर जातीय राजनीतिमा नहिंडेको' दावी गरेपनि नारायणप्रसाद राईले आफुलाई नेपाली भन्दा राई महत्वपूर्ण भएको बताए। उनले भने, 'म राई भएको नाताले नेपाली नागरिकता भन्दा राई महत्वपूर्ण हुन्छ, त्यसैले नागरिकता त्याग्न सकिन्छ, पार्टी त्याग्न सकिन्छ तर राई त्याग्न सकिन्न।' संविधानसभा विघटन हुनुमा एमाले मुख्य दोषी रहेको आरोप लगाउँदै एमाले छाड्नेहरूले विज्ञप्तीमा भनेका छन्- 'एमालेले अन्तिम घडीमा पहिचान र संघीयताको विपक्षमा आफूलाई उभ्यायो, पहिचानसहितको संघीयताको पक्षमा दुई तिहाई रहेको अवस्थामा एमालेले समर्थन गर्नुको साटो आफ्ना सभासद्हरुलाई विपक्षमा उभिन निर्देशन दिनुकासाथै बैठक सञ्चालनमा कुनै पहल देखाएन फलस्वरुप संविधान सभा विघटन हुन पुग्यो।'

No comments: