News

Oct 3, 2012

जनजातिको माग सम्बोधन गर्न कांग्रेस तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१७ असोज,नेपाली कांग्रेसले पार्टीका आदिवासी जनजाति नेताहरुले अघि सारेको ११ बुँदे माग तत्काल सम्बोधन गर्ने बताएको छ । जनजाति पूर्व सभासदहरुले पार्टीनै परित्याग गरेको घोषणा गरेपछि कांग्रेसले जनजाति नेताहरुले अघि सारेको माग सम्वोधन गर्नेबारे छलफल थालेको हो । सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको भीमबहादुर तामाङको नेतृत्वको सुझाव गठित समिति र शीर्ष नेताहरुको बैठकले तत्काल जनजाति नेताहरुको माग सम्वोधन गर्ने निष्कर्ष निकालेको हो । ‘पहिचानको मागलाई पार्टीले तत्काल सम्वोधन गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं’ संयोजक तामाङले अनलाइनखबरसँग भन्नुभयो । शीर्ष नेताहरुको सहमति लिएपछि जनजाति नेताहरुको मागबारे समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गरिने उहाँले बताउनु भयो । पहिचानका १८ आधारहरु प्रस्ताव गरेको समितिले एकल जातीय पहिचान भने स्वीकार नगर्न सुझाव दिएको छ । ‘पहिचानबारे हामीले १८ बुँदे सुझाव दिएका छौं’ समितिका सदस्य मानवहादुर विश्वकर्माले अनलाइनखबरसँग भन्नुभयो-’एकल जातीय पहिचानलाई भने स्वीकार गर्न सकिँदैन । जनजाति नेताहरुले पनि एकल जातीय पहिचान खोजेका हैनौं भनेका छन् ।’ पूर्व सभासद इद्रबहादुर गुरुङसहितका जनजाति नेताहरुले ११ बुँदे माग बुझाउँदै सम्वोधन नभए पार्टी छाड्ने चेतावनी दिएको थियो । जनजाति नेताहरुको मागबारे सुझाव दिन पूराना नेता तामाङ नेतृत्वमा गठित समितिले झण्डै डेढ महिनाअघि प्रतिवेदन बुझाएपनि छलफल भएको थिएन । तर, कुमार राई लगायतका पूर्व सभासदले कांग्रेस परित्यागको घोषणा गरेपछि कांग्रेसले प्रतिवेदनमाथि छलफल थालेको हो । नेताहरुका अनुसार भोलि शीर्ष तीन नेता र समितिका सदस्यहरुबीच प्रतिवेदनमाथि बुँदागत रुपमा छलफल हुनेछ । शीर्ष नेताहरुको छलफलका आधारमा जनजाति नेताहरुसँग छलफल गरि सहमति खोजिने सदस्य विश्वकर्माले जानकारी दिनुभयो । यसैबीच पूर्व सभासद तथा केन्दि्रय सदस्य कुमार राईको नेतृत्वमा केही जनजाति नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । काठमाणैंको बौद्धमा पत्रकार सम्मेलन गरि पार्टि परित्याग गर्ने समूहका नेता कुमार राईले जनजातीका मुद्दालाई स्वीकार नगरेको तथा संविभनसभा विगठन गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेकाले पार्टी छोडेको बताउनुभयो । सवै पार्टीका जनजाति नेताहरु मिलेर नयाँ पार्टी खोल्ने उहाँले बताउनुभयो । पार्टी परित्याग गर्नेमा झण्डै एक दर्जन महासमिति सदस्य र केही जिल्लास्तरका नेता छन् ।

No comments: