News

Oct 15, 2012

छोरीलाई पिट्ने आमालाई ९९ वर्ष जेल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
वासिङ्टन (एजेन्सीहरू), आश्विन २९ - दुई वर्षीया छोरीको हातमा गुद लगाएर भित्तामा टाँसी अचेत नहुन्जेलसम्म कुटपिट गरेको अभियोगमा अमेरिकी अदालतले एक २३ वर्षे महिलालाई ९९ वर्ष जेल सजाय सुनाएको छ । सन् २०११ को ७ सेप्टेम्बरमा अमेरिकाको डलासमा भएको यो घटनामा आमा एलिजाबेथ ऐस्क्यालोनाको कुटाइबाट छोरी जोसेलिन सेडिलो कोमामा पुगेको 'द डलास मर्निङ न्युज' ले जनाएको छ । उनले आफ्नो अपराध स्विकारेकी छन् । उनले आत्मग्लानिको अनुभूति गर्दै यस्तो व्यवहार राक्षसनीले मात्र गर्न सक्ने बताएकी छन् । 'मैले उसलाई धकेलें, लगातार लात्तीले हानें, मैले ऊसँग यस्तो गर्नु हुँदैनथ्यो,' उनले भनिन् । उनले छोरीलाई पेटमा लात्तीले हानेको, दुधको जगले प्रहार गरेको र भित्तामा टाँसेको प्रहरीले मुचुल्कामा जनाएको थियो । ती बालिकाको स्वास्थ्य अहिले राम्रो छ । चिकित्सकीय जाँचमा यातनाबाट जोसेलिनको मष्तिष्कमा रक्तस्राव भएको, करङ भाँचिएको, हातको छाला उधि्रएको र शरीरभरि गहिरो घाउ देखिएको थियो । पाँच बालबालिकाको पालनपोषणको जिम्मेवारीले तनावमा रहेकाले आवेशमा आएर यस्तो व्यवहार गर्न पुगेको उनले बताइन् । शौच गर्न सिकाउने क्रममा आमाले जोसेलिनलाई कुटेको अन्य सन्तानहरूले प्रहरीलाई बताएका थिए । सजाय सुनाउनुअघि नै न्यायाधीश ल्यारी मिचेलले छोरीसँग क्रूर व्यवहार गर्ने एलिजाबेथलाई कडाभन्दा कडा सजाय दिनुपर्ने बताइसकेका थिए । पाँच दिनको सुनुवाइपछि उनले यो सजाय सुनाएका थिए ।

No comments: