News

Oct 6, 2012

असोजभित्रै प्रधानमन्त्रीले राजीनामा गर्ने माओवादी नेताको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन २० - एमाओवादी पोलिट्ब्युरो सदस्य राम कार्कीले राष्ट्रिय सहमतिको आधारमा नयाँ सरकार चाँडै निर्माण हुने संकेत गर्दै प्रधानमन्त्री भट्टराईले दुई साता भित्रै राजीनामा दिने दाबी गरेका छन् । राजधानीमा शनिबार आयोजित साक्षात्कारमा उनले आगामी सरकार राजनीतिक दलको नेतृत्वमा नै हुनुपर्ने भन्दै कुनैं स्वतन्त्र व्यक्तिको नेतृत्वमा नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ भन्ने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारे । ‘अब बाबुरामजीले छिट्टै राजीनामा दिँदै हुनुहुन्छ । दलहरुबीच १५ दिन भित्रमा सहमति भएर राष्ट्रिय सरकार निर्माण नभए गणतन्त्र संकटमा पर्छ,’ उनले भने, ‘यो महिनाभित्र सहमति नभए मुलुकमा ठूलो संकट आउँछ र गणतन्त्र नैं कोल्याप्स हुनसक्छ र यस्तो बेला राष्ट्रपतिबाट कु हुनसक्छ ।’ कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले असोज मसान्तसम्म राजीनामा नदिए राष्ट्रपतिले उनलाई गलहत्याएर हटाउनु पर्ने बताए । ‘वर्तमान कामचलाउ सरकारले धेरै गलत र विवादस्पद काम गरेकोले यसलाई अब धेरै समय राख्नु हुन्न,’ महतले भने ‘यो सरकारलाई हटाएर राष्ट्रपतिले सहमतिको आधारमा नयाँ सरकार निर्माण गर्न निश्चित समय तोकेर दलहरुलाई आव्हान गर्नुपर्छ ।’ ‘पूर्वराजा ज्ञानेन्द्रले शेरबहादुरजी (तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा) लाई असक्षम भनेर निकालेजस्तै गरी राष्ट्रपति डा. रामवरण यादव प्रधानमन्त्रीलाई गलहत्याउन चाहनु हुन्न तर अब धेरै दिन कुरेर बस्न भने मिल्दैन,’ उनले भने । एमाले केन्द्रीय सदस्य रघुवीर महासेठले सहमतिको नाममा वर्तमान सरकारले सत्ताको आयु लम्ब्याउने काम मात्र गरेको टिप्पणी गरे । महासेठले भने, ‘सत्ता छोड्नासाथ माओबादी नै फुट्छ भन्ने डरले पुष्पकमल दाहालले सहमतिको नारा मात्र लगाएका हुन । राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कात्तिक १५ भित्रमा पनि सरकारले सत्ता नछाडे वा सहमतिको आधारमा अर्को बजेट आउन नसके राष्ट्रपतिलाई अधिकार दिनुपर्ने बताए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले बर्तमान राजनीतिक संकटको निकास दिन ठूला दलहरु असफल भएकोले अब मोर्चाले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको दाबी गर्ने बताए ।

No comments: