News

Oct 5, 2012

सामाजिक सञ्जालमा बढ्दो विकृति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१९ असोज,  कम्प्युटर चलाउन जान्ने धेरै मानिसलाई हिजोआज फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा लत बसेको छ । साथीहरुसँग भेटघाट र कुराकानी गर्न पाईने, आफ्नो कुरा शेयर गर्न र सुनाउन मिल्ने तथा वर्षौं सम्म भेट नभएका साथीभाइ तथा नातेदारसँग पनि मिल्न पाइने भएकाले सामाजिक सञ्जाल लोकपि्रय हुँदै गएको हो । तर यसको लोकपि्रयतासँगै विकृति र आलोचना पनि उसैगरी बढिरहेको छ । राजनीतिक दलका नेता तथा प्रतिष्ठित व्यक्तित्वको जथाभावी फोटो बिगारेर गाली गर्ने, छाडा र अश्लित शब्द तथा तस्वीरको प्रयोगसँगै आपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोग हुन थालेको उदाहरण भेटिएको छ । फेसबुककै कारण लामो समयदेखि सम्पर्कबिहीन रहेको मान्छे फेला परेको उदाहरण पनि छ । फेसबुकबाट आपराधिक क्रियाकलाप गरेको कारण प्रहरीको फन्दामा परेको उदाहरण पनि छ । यसलै फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालको लोकप्रियतासँगै दुरुपयोग पनि बढिरहेको छ । संविधानसभा बिघटन भएको आसपासको बेला फेसबुकको दुरुपयोग निकै बढेको पाइयो । नेताहरुलाई जथाभावी भनेर र उनीहरुको फोटो बिगारेर फेसबुकमा राख्ने काम गरियो । त्यो बेला सरकारले सार्वजनिक सूचना नै निकालेर सार्वजनिक व्यक्तिको फोटो बिगारेर तथा गाली गरेर अपमान गर्ने तथा अश्लिल र उत्तेजित तस्वीर राख्ने, शेयर गर्नेलाई समेत कार्वाही गर्ने भन्यो । यसपछि केही मान्छे त हच्किए । तर यो पूर्ण रुपमा नियन्त्रणमा आउन सकेन । अघिल्लो हप्ता काठमाडौंमा सीता एयरको विमान दुर्घटना हुँदा जलेका विभत्स शव फेसबुकमा राख्ने कामको धेरैले बिरोध गरे । यस्ता तस्वीर राख्नेलाई साथीको लिस्टबाट हटाउने काम समेत भयो । तर दुरुपयोग गर्नेहरुको मनोबल अझै घटेको छैन । दुरुपयोग त आफ्नो ठाउँमा छँदैछ । कसैले अर्काको नामबाट समेत एकाउन्ट खोलेर आपराधिक काम गरिरहेको भेटिन्छ । ‘सामाजिक सञ्जाल प्रयोग गर्नेको संख्या बढेसँगै दुरुपयोगको चुनौति पनि बढिरहेको छ, यसलाई रोक्न आवश्यक छ’ इन्टरनेट प्रोभाईडर एसोसिएसन अफ नेपालका अध्यक्ष विनय बोहराले बताउनुभयो । 

कडाईसँगै सचेतना आवश्यक 
नेपालमा फेसबुक प्रयोग गर्नेका संख्या मात्रै १५ लाखको हाराहारीमा छ । ट्वीटर प्रयोग गर्नेहरु पनि उत्तिकै छन् । तर ट्वीटरको तुलनामा फेसबुकमा दुरुपयोग बढी देखिन्छ । जथाभावी तस्वीर राख्न सजिलो भएकाले फेसबुक दुरुपयोगको घटना र प्रहरीमा उजुरी बढी पर्ने गरेको छ । ‘सामाजिक सञ्जालको दुरुपयोग बढिरहेकाले सरकारले नै कडाईका साथ कानुन लागू गर्नुपर्छ’ पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले भन्नुभयो -’नियन्त्रणको लागि सरकार नै अग्रसर हुनुपर्छ ।’ सरकारले कानुन बनाएर विकृति त रोक्न सक्ला । तर आफ्नो एकाउन्ट अर्कोले दुरुपयोग नगरोस् भन्नाका लागि आफैं नै सचेत हुनुपर्ने आवश्यकता छ । एकातिर भएका कानुन पनि कडाईका साथ लागू भएको छैन । अर्कातिर फेसबुक प्रयोगकर्तामा नै सचेतना देखिँदैन । आफू सजक हुने भने मात्रै पनि ९० प्रतिशत समस्या आफैं समाधान हुन्छ ।

No comments: