News

Oct 2, 2012

हङकङमा पानीजहाज ठोक्किदा ३६ को मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन १६ - हङकङ स्थित लामा आइलैण्डमा सोमबार राति दुई यात्रुवाहक पानीजहाज (फेरि) ठोक्किदा ३६ जनाको मृत्यु भएको छ । दुबै जहाजमा सवार एकसय बढी घाइते छन् । चीनको ६३ औँ राष्ट्रिय दिवसको अवसरमा हुने आतिशबाजी हेर्न यात्रुहरू प्रर्दशनी स्थलतर्फ आइरहेका थिए । दुर्घटनामा पर्नेहरू मध्ये अधिकांश विद्युत उत्पादक कम्पनी हङकङ इलेक्टि्रकमा कार्यरत कर्मचारी र तिनका परिवार जनाइएको छ । दुर्घटनामा २८ को घटनास्थलमै र बाँकीको अस्पतालमा मृत्यु भएको हो । पाँच विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको हङकङ सुचना विभागले जनाएको छ । आइलैण्डबाट आतिशबाजी हुने स्थल 'भिक्टोरिया हार्बर' तर्फ गइरहेको कम्पनीको जहाज विपरित दिशाबाट आएको जहाजसँग ठोक्किएको हो । यसको केहीबेरमै हङकङ इलेक्टि्रकको जहाज पानीमा डुबेको थियो । करिब १ सय २० यात्रु जहाजमा सवार थिए । हेलिकप्टरसहित परिचालित बचाव टोलीले डुबेकाहरूको उद्धार गरेको हो । दुर्घटनामा परेको अर्को जहाज नियमित यात्रु ओसार्ने हङकङ काउलुन फेरि कम्पनीको हो । उक्त जहाजको अघिल्लो भागमा क्षति पुगेको छ । घटना हुँदा नजिकै रहेको फेरि स्टेशनमा सयौं सर्वसाधारण जहाजको पर्खाइमा थिए । हङकङ इलेक्टि्रकमा ८० बढी नेपाली कार्यरत छन् । घटनामा मंगलबार बिहानसम्म कुनै नेपाली परेको जानकारीमा नआएको सोही कम्पनीमा कार्यरत जगत गुरुङले बताए । ९ बजे सुरु हुने आतिशबाजी हेर्न करिब ८:१५ बजे गुडेको जहाज केहीबेरमै अर्कोसँग ठोक्किएको थियो । घटनास्थल आतिशबाजी गरिने ठाउँभन्दा करिब तीन किलोमिटरको दूरीमा छ । डुबेको जहाज मंगलबार बिहान बाहिर निकालिएको छ । हङकङ संसारकै व्यस्त पोत मध्येको हो । स्थानीय संचारमाध्यमहरूले यस्तो गम्भीर दुर्घटनालाई दुर्लभ भनेका छन् ।

No comments: