News

Oct 5, 2012

उपाध्यक्ष राईसहित पाँच सयले एमाले छाडे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आश्विन १८ - 'अग्रगामी विचार समूह' निर्माण गरी पार्टीभित्र वैचारिक संघर्ष गर्दै आएका एमाले उपाध्यक्ष अशोककुमार राईसहित ५ सय १७ नेता कार्यकर्ताले बिहीबार पार्टी परित्याग गरेका छन् । राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरी पार्टी परित्याग गरेको घोषणा गरियो । पार्टी परित्याग गर्नेमा उपाध्यक्ष राईसहित पोलिट्ब्युरो सदस्य विजय सुब्बा, केन्द्रीय सदस्य वीरबहादुर लामा, राजेन्द्र श्रेष्ठ, मो. रिजवान अन्सारी, वैकल्पिक केन्द्रीय सदस्य अजम्बर राई काङबाङ, पूर्वमन्त्री रकम चेम्जोङ छन् । पूर्वसभासद्हरु लक्की शेर्पा, योगिलाल यादव, उर्मिला साह, राजकुमार राई, रणध्वज कन्दङ्वा, मंगलसिद्धि मानन्धर, योगिलाल यादव, हितकाजी गुरुङ, भगवती चौधरी, गोपाल ठाकुर, पासाङ शेर्पा र डम्बरसिंह सम्बाहाम्फेले पनि एमाले छाडेका छन् । तर नाम घोषणा भएकामा गुरुङ, चौधरी, साह र सम्बाहाम्फेले मञ्चमा देखिएनन् । पार्टीसँग सहमतिपछि पुनः काममा फर्केका पोलिट्ब्युरो सदस्य रामचन्द्र झाको नाम पनि परित्याग गर्नेमा घोषणा गरिए पनि उनी कार्यक्रमस्थलमा थिएनन् । पुनः काममा फर्केको भनिएका वीरबहादुर लामाले भने पार्टी छाडेको भाषण नै गरे । नेता अजम्बर राई काङबाङका अनुसार ६१ जिल्लाका ५ सय १७ जनाले एमाले परित्याग गरेका छन् । 'जिल्लाको तथ्यांक आउन बाँकी छ,' ईकान्तिपुरसित उनले भने, 'संख्या निकै ठूलो छ ।' गणेशमान गुरुङ, गणेश योञ्जनलगायतका बुद्धिजिवीले पनि पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग घोषणा गरिए पनि नयाँ पार्टी घोषणा गरिएन । यसअघि नै पार्टी घोषणा गरिसकेका डा. चैतन्य सुब्बा, मल्ल के. सुन्दर, पासाङ शेर्पा, ओम गुरुङ, बालकृष्ण माबुहाङ, जीतपाल किराँती पनि एमाले परित्याग कार्यक्रममा उपस्थित थिए । सभालाई सम्बोधन गर्दै विचार समूहका संयोजक राईले वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी परित्याग गरेको बताए । उनले एमाओवादी, कांग्रेस, एमालेका कारण संविधानसभा विघटन भएको आरोप लगाउँदै त्यसमा पनि सवैभन्दा बढी दोष एमालेको रहेको उल्लेख गरे । राईले दलहरुबीच सहमति हुन नसके बाध्यात्मक हुने तेस्रो जनआन्दोलनले गतिरोध तोड्ने चेतावनी दिए । 'सहमतिबाटै गतिरोध तोड्नुपर्छ,' उनले भने, 'अन्यथा तेस्रो जनआन्दोलन कसैले रोक्न सक्दैन ।' उनले सभामा दलहरुमा रहेको संकिर्णता र यथास्थितिवादको विरुद्धमा विद्रोह गरेको उल्लेख गर्दै जनताको अग्रगामी आकांक्षा संयुक्त जनआन्दोलनमै माध्यमबाट भए पनि पुरा गरेरै छाड्ने बताए । "हामीले समानता, न्याय र प्रतिनिधित्वको कुरा गर्दा हामीलाई जातिवादीको विल्ला भिराइएको छ" उनले भने, "महिलाले अंशको कुरा गर्दा घर कलह हुन्छ भन्ने, मुलुकलाई एउटै जाति, भाषा र संस्कृतिमा आधारित हुनुपर्छ भन्नेहरु जातिवादी हुन् ।" दलहरुले याथस्थितिमा रहन चाहेपनि जनताको आकांक्षा भने अग्रगामी रहेको उनले उल्लेख गरे । साथै उनले नेताहरुको यथास्थितिवादी सोच र जनताको अग्रगामी सोचबीचमा अहिले द्वन्द रहेको पनि उनले उल्लेख गरे । आफुहरुले सबै जनताको बीचमा हादिर्कता होस्, एकता होस् र सर्वभौमसत्ता चीरकालसम्म होस् भन्ने चाहेर समानताको कुरा गरेको उनले बताए । "हामीले कसैको बिशेषाधिकार हुँदैन भनेका हौं, सबैलाई समानता हुन्छ भनेका छौं" उनले भने, "यही समानताको कुरा गर्दा हामीलाई जातिवादी भनिएको छ, विभेदकारी भनिएको छ ।" राईले केन्द्रीय कमिटी र केन्द्रीय समन्वय समितिका गरी ६२ जनाको नाम पढेर सुनाएका थिए । बाँकी जिल्लाहरुबाट प्रतिनिधित्व गरेर आउनेहरुको नाम पढ्ने समय नभएको उल्लेख गरेका थिए । उनीहरुले एमालेले आदिवासी जनजातिलगायत उत्पीडित उपेक्षतिहरुको भावना र मागको सम्बोधन गर्न नसकेको उल्लेख गरेका छन् । बुधबार काँग्रेसका पूर्व सभासद् कुमार राईसहित तीन दर्जन नेता कार्यकर्ताले पनि पार्टी परित्यागको घोषणा गरेका थिए ।'

No comments: