News

Oct 31, 2012

अफगानिस्तानमा विद्रोहीको आक्रमणबाट दुई गोर्खा सैनिक मारिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कार्तिक १५ - अफगानिस्तानमा विद्रोहीको आक्रमणबाट मंगलबार दुई गोर्खा सैनिक मारिएका छन् । काठमाडौंस्थित बेलायती दूतावासले बुधबार जनाएअनुसार हेल्मान्डको नहरे सराज जिल्लामा अपरेसनमा खटिएका बेला एक चेक प्वाइन्टमा अफगानी प्रहरीको पोसाक लगाएका एक बन्दुकधारीको गोली प्रहारबाट उनीहरू मारिएका हुन् । दूतावासद्वारा जारी विज्ञप्तिमा बेलायती सैनिक प्रवक्तालाई उद्धृत गर्दै जनाइएअनुसार मारिनेमा गोर्खा सैनिक फस्ट बटालियन द रोयल गोर्खा राइफल्सका हुन् । मृतकका आफन्तलाई जानकारी भइसकेको भन्दै दूतावासले भने दुवैको नाम खुलाएको छैन । पोखरास्थित कान्तिपुर संवाददाता लालप्रसाद शर्माका अनुसार त्यसरी मारिने दुई नेपालीमध्ये एक जना पोखरा- १० रामबजारका सिद्धान्त कुँवर हुन् । गोर्खा राइफल्स फस्ट बटालियनमा कार्यरत २८ वर्षीय कुँवर सन् २००५ मा बि्रटिस गोर्खामा भर्ना भएका थिए । उनलाई पछिल्लो पटक गत अक्टोवर ३ तारिखमा अफगानिस्तानमा खटाइएको थियो । उनका बाबु श्यामकुमारका अनुसार कुँवर दुई पटक अफगानिस्तानमा बसिसकेका थिए । काठमाडौंस्थित बेलायती दूतावासले परिवारलाई मंगलबारै खबर गरेको थियो । कुूवरले पोखराको एसओएसबाट प्रथम श्रेणीमा एसएलसी र कालिका बहुमुखी क्याम्पसबाट व्यवस्थापन विषयमा प्रवीणता प्रमाणपत्र उत्तीर्ण गरेका थिए । बाबु श्यामकुमारले आफ्नो र दिदीहरूले इच्छाले सिद्धान्त बेलायती सेनामा भर्ना भएको बताए । ७८ वर्षीय श्यामकुमार भारतीय सेना निवृत्त हुन् । मृतक कुँवरका एक दाजु र चार दिदी छन् । आमाको मृत्यु भइसकेको छ । कुवरले अब बिदामा आउूदा विवाह गर्ने योजना बनाएका थिए । उनको शव लिन बाबुसहित ५ आफन्त बेलायत जाने भएका छन् ।

No comments: