News

Oct 28, 2012

एनेकपा माओवादीले गर्‍यो महत्वपूर्ण तीन निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
कात्तिक १२ - एनेकपा (माओवादी)ले राजनीतिक सहमति,आगामी महाधिवेशनको तयारी र पार्टी रुपान्तरणका विषयमा महत्वपूर्ण निर्णय लिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको केन्द्रीय कार्यालयको बैठकले पार्टी रुपान्तरणका लागि सामूहिक व्यवस्थापन र उत्पादनशील दिशातर्फ लाने आगामी कार्ययोजनासहित महत्वपूर्ण तीनवटा निर्णय लिएको हो। पार्टीलाई रुपान्तरण गर्ने सन्दर्भमा अध्यक्ष दाहालले अब सामूहिक व्यवस्थापन तथा उत्पादनको जिम्मेवारी बहन गर्ने भएका छन् । त्यसैगरी, उपाध्यक्ष एवम् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास योजना र अर्थ विभागको जिम्मेवारी सम्हाल्ने छन् । अर्का उपाध्यक्ष एवम् उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुशासन फाँटको जिम्मेवारी दिने निर्णय बैठकले गरेको छ। बैठकले महाधिवेशनका लागि गर्नुपर्ने कामका विषयमा छलफल गरी केही निर्णयसमेत लिएको छ। बैठकले महाधिवेशन तयारी समितिको बैठक आगामी मङ्सिर ६ गते बोलाउने निर्णयसमेत गरेको छ। तयारी समितिको बैठक लगत्तै जिल्ला अधिवेशनको प्रक्रिया अगाडि बढाउने तथा पार्टीको महाधिवेशन तोकिएको समय आगामी माघ महिनामा सम्पन्न गर्ने अभियानमा एनेकपा माओवादी जुटेको छ। तयारी समितिको बैठकअघि नै दस्तावेजको तयारीलाई छिट्टै पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ। बैठकले राष्ट्रिय सहमति निर्माण गरेर अहिलेको राजनीतिक र संवैधानिक गतिरोध अन्त्य गरी निकास निकाल्न दलहरुबीचको वार्ता र छलफललाई गम्भीर महत्वका साथ तीव्रता प्रदान गर्ने निर्णय गरेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । पार्टी अध्यक्ष दाहालले राजनीतिक गतिरोध अन्त्य गर्ने सिलसिलामा शनिबार नेपाली कांग्रेसका सभापति सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग भएको कुराकानी र छलफलबारेमा बैठकलाई जानकारी गराए । वार्ता र छलफल अहिले निर्णायक टुङ्गोमा पुगिनसकेकाले दलहरुबीचको सहमतिका लागि छलफल र संवादलाई तीव्रता र निर्णायक तुल्याउने निर्णयसमेत बैठकले गरेको छ। अघिल्लो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल हुनुको नाताले, निर्वाचनको घोषणा गरेको सरकारको हैसियतले एनेकपा माओवादीकै नेतृत्वमा नयाँ निर्वाचनका लागि अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्दा न्यायोचित र उपयुक्त हुन्छ भन्ने आफ्नो दलको भनाइ रहेको बैठकपछि उपाध्यक्ष श्रेष्ठले बताए ।

No comments: