News

Oct 16, 2012

पान्थरमा लिम्बुवानको जनजागरण आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/दिलकुमार लावती 
फेदेन (पान्थर) लिम्बुवान अक्टोवर १३, २०१२ । संघीय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति पान्थरको आयोजनामा फेदेनमा विशाल लिम्बुवान जागरण आमसभा सम्पन्न भएको छ । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको हो । प्रमुख अतिथि लिङ्देनले पान्थरको फेदेन लिम्बुवानको मुटु हो, ढुकढुकी हो भन्नु भयो । एकात्मकवादीहरू पुलिस, प्रशासन र सञ्चारकर्मी छन् भने संघीयवादीहरूसँग एक मुठी माटो र गरिब जनताहरू मात्र भएको बताउनु भयो । वहाँले वर्तमान संविधानसभा प्रचण्ड र सुवास नेम्बाङ्को उधारो राष्ट्रपति बन्ने सपनाले गर्दा हत्या भएको बताउँदै संविधानसभाको हत्याराहरूको भण्डारफोर गर्नैपर्छ एकात्मकवादीहरूलाई लिम्बुवानमा बहिष्कार गरौं भन्नुभयो । संघीयता पहिचान र इतिहासले मात्र बन्छ भूगोलले कहिल्यै नबन्ने दावी गर्दै मिराकले विजयकुमार गच्छेदार र सन्जुहाङ्बीच एकता भएको पार्टीसँग कहिल्यै एकता नहुने बताउनु भयो । उनले लिम्बुवान नभएमा आफ्नै संविधान जारी गर्ने समेत सरकारलाई चुनौती दिए । कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले ओडारमा बस्ने दुम्सीलाई धुँवा हालेपछि जसरी भाग्छ त्यसैगरी राणाहरूलाई जनताहरूले खेदाएका थिए । अब एमाले, कांग्रेस र एमाओवादीलाई पनि लिम्बुवानबाट खेटाउनु पर्ने बताए । त्यसैगरी मञ्च सम्बद्ध परिषदका महासचिव फक्ताङ्लुङ् योङ्हाङ्ले लिम्बुवान भोलेण्टियर्सहरू लिम्बुवान स्वायत्त राज्य प्राप्तिको लागि जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने बताउनु भयो । त्यसैगरी, कार्यक्रममा केन्द्रीय सदस्य संगम खनाल, जेन्टल लावती, जसबहादुर योङ्हाङ्, नेत्र ढकाल, वैकल्पिक केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्री, इलाम जिल्ला अध्यक्ष दिलप्रसाद नेम्बाङ्ले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको बारेमा पान्थर जिल्ला उपाध्यक्ष जकेन्द्र लावतीले प्रकाश पार्नुभएको थियो । पान्थरका संघीय कलाकार परिषदले विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको सो कार्यक्रम पान्थर अन्लाईन डट कमबाट संसारभर प्रत्यक्ष गरिएको थियो भने सुम्हा?त्लुङ् एफएम र इगल एफएमबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।

No comments: