News

Oct 31, 2012

'चुनावी सरकारको नेतृत्व दाहालले गरे पनि एमालेलाई स्वीकार्य'

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
नुवाकोट, कात्तिक १५ - नेकपा (एमाले) स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले सहमतिको चुनावी सरकारको नेतृत्व पुष्पकमल दाहालले गरे पनि एमालेलाई स्वीकार्य हुने बताएका छन्। बाबुराम भट्टराईको वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताउँदै आएको विपक्षी गठबन्धनका नेताबाट यस्तो अभिव्यक्ति आएको यो पहिलो पटक हो। यसअघि कङ्ग्रेस नेतृत्वमा सहमतिको सरकार बन्नुपर्नेमा विपक्षी गठबन्धनले जोड दिँदै आएको थियो। प्रेस चौतारी नेपालले आज विदुरमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता अधिकारीले सबै संवैधानिक बाधा अड्काउ फुकाएर निर्वाचन गर्नको लागि अहिलेको सरकारलाई कुनै अधिकार नभएकाले चुनावी सरकार बनाउनुपर्ने बताए। पूर्व अर्थमन्त्रीसमेत रहेका नेता अधिकारीले एमाले पूर्ण बजेटको विरोधी नभएको उल्लेख गर्दै पूर्ण बजेटको नाममा भट्टराई सरकारले सत्ता लम्ब्याउने खेल खेल्न लागेको आरोप लगाए। अहिलेको सरकारको सत्ता बहिर्गमनपछि बन्ने सहमतिको चुनावी सरकारले नै पूर्ण बजेट ल्याउने, रिक्त हुन लागेका संवैधानिक निकायको समस्या समाधान गर्ने र निर्वाचन गराउनुपर्ने नेता अधिकारीको धारणा रहेको छ। उनले अब निकासको लागि देशको निर्णय गर्ने कुरा जनतालाई दिनुपर्नेमा जोड दिँदै नेताहरूले ठेकदार बन्ने काम बन्द गर्नुपर्ने बताए। मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका नेता अधिकारी आज युवासङ्घ नेपाल विदुर नगरसमितिको आयोजनामा बट्टारमा सञ्चालन भएको मनमोहन कप स्मृति कप फुटबल प्रतियोगिताको उद्घाटन गर्न नुवाकोट आएका हुन्।

No comments: