News

Mar 23, 2008

गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा रचित गीति एल्बम सारको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,देवराज राई ,हङकङ,मार्च २४, २००८
हङकङेली गीतकार तथा कवि टंक सम्बाहाम्फेद्वारा रचना गरिएका कृष्ण भक्त राईले स्वर तथा संगीत दिनुभएको गीति एल्बम सारको एक औपचारिक कार्यक्रम बीच आज मार्च २३ तारिखका दिन हङकङमा विमोचन गरियो । अन्तराष्ट्रिय साहित्य समाज हङकङको आयोजनामा तथा एचकेनेपाल डटकमको प्रायोजनमा सम्पन्न भएको विमोचन समारोहमा हङकङेली गायक, कलाकार, साहित्यकार तथा पत्रकाहरुको उपस्थिति रहेको थियो ।
संगीतकार दिनेश सुब्बा प्रमुख अतिथि रहनुभएको विमोचन समारोहमा अर्का गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो । अनेसास हङकङ च्याप्टरका अध्यक्ष पशन तमूको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनेसासका प्रतिनिधि मोति चाम्लिङले स्वागत मन्तव्य सहित अनेसासका गतिविधिहरुका बारेमा प्रष्ट पार्नु भएको थियो । कङ्गन रेष्टुरेण्टमा सम्पन्न भएको विमोचन समारोहमा शिव सुब्बाले गीति एलबम सारको बारेमा समालोचना गर्दै कृष्णभक्त र्राईको बारेमा चर्चा गर्नु भएको थियो ।
साहित्यकार देश सुब्बाले संचालन गर्नु भएको कार्यक्रममा गणेश इजम, किसन राई, नागेन्द्र श्रेष्ठ, प्रदिप कन्दङ्वा, भगत सुब्बा, भुपेन्द्र चेम्जोङ एवं प्रमुख अतिथि दिनेश सुब्बाले गीतकार सम्बाहाम्फेलाई शुभकामना दिनु भएको थियो । कार्यक्रममा गायक नन्द चङ्सु, हषिर्त आले,अशोक र्राई, गीतकार डीबी पालुङ्वा, पत्रकारहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि दिनेश सुब्बा, सभापति पशन तमू र विशेष अतिथि नागेन्द्र श्रेष्ठले गीति एल्बमलाई सामुहिक रुपमा विमोचन गर्नु भएको थियो । विमोचन समारोहमा एचकेनेपाल डटकमका सम्पादक एवं सभापति पशन तमूले विमोचन समारोहका बारेमा प्रष्ट्याउनु भएको थियो ।
सार गीति एलबममा १० वटा गीतहरु संग्रह गरिएको छ । गीति एलबममा वरिष्ठ संगीतकार दिनेश सुब्बा र हेमन्त शिशिरले एक एक गीतमा संगीत भर्न भएको छ । बाँकी ८ वटा गीतमा गायक कृष्णभक्त राई स्वयंले संगीत समेत भर्नु भएको छ । नेत्रहिन भएर पनि नेपाली गीत संगीतमा चर्चित गायक कलाकार कृष्णभक्त र्राईले दिनु भएको संगीतका बारेमा विमोचन समारोहमा उपस्थित सबैले दिल खोलेर प्रशंसा गरेका थिए ।
कार्यक्रम दिनको १:३० बजेदेखि ३ बजेसम्म सम्पन्न भएको थियो । गीतकार टंक सम्बाहाम्फेले यस अघि मनोभाव गीति एलबम बजारमा ल्याइसक्नु भएको छ ।

No comments: