News

Dec 13, 2007

हङकङमा उपन्यासकार देश सुब्बाको ‘आदिवासी’ विमोचित

लिम्वूवान व्लगस्पोट हङकङ
२००७ डिसेम्वर १२ तारीख साँझ जोर्डनस्थित कँगन रेष्टुरेन्टमा आयोजित एक
समारोहबीच उपन्यासकार देश सुब्बाद्वारा लिखित ‘आदिवासी’ शीर्षकको उपन्यासको औपचारिक विमोचन भएको छ । भयवादमा आधारित भनिएको उक्त ‘आदिवासी’ उपन्यासका पाण्डुलीपी यहाँ विभिन्न व्यक्तिहरुलाई पहिले नै वितरण गरिएको हुँदा विमोचनकै समय त्यस कृतिको बारेमा छलफल तथा विचार विमर्शका कार्यक्रमहरु पनि साथै भएका थिए । पाण्डुलीपी नहेर्ने उपस्थित व्यक्तिहरु त्यस कृति ‘आदिवासी’ उपन्यासका
बारेमा गरिएका टिप्पणीहरु अति नै पट्यार-लाग्दो लाग्दै गरेको बताएका थिए । सिर्जनशील साहित्य समाज हङकङको आयोजनामा सम्पन्न भएको यस विमोचन तथा छलफल कार्यक्रमको सँचालन समाजका सदस्य देवेन्द्र खेरेसले गरेका थिए । समयाभावले गर्दा मानिसहरु यथेष्ट आई नपुगेका भएकोले कार्यक्रम केही ढिलो सञ्चालन गरिएको थियो । समाजका अर्का सदस्य अशोक राईको स्वागत
मन्तव्यपछि अनेसाससँग आवद्ध भएर रोजगारीकै दौरान सात वर्ष साउदी अवरमा बिताई भर्खरै हङकङ आइपुगेका मोती चामलिङले ‘साहित्यकारहरुमा सर्वपक्षीय सोँच हुनुपर्दछ’ भन्दै हनेसा स्थापित भइसकेको बारे आफ्नो मन्तव्य दिएपछि नेपाल डट यचकेका ‘हनेसा प्रमुख’ प्रदीप कन्दङ्वा तथा हङकङ नेपाली महासँघका ‘साहित्य विभागका सँयोजक’ भोगेन एक्लेले विमोचित उपन्यास ‘आदिवासी’को बारे समालोचनात्मक मन्तव्य दिएका थिए । ‘चौँतीस पेजको भूमिका, छयानब्बे पेजको उपन्यासमा राखिएको अति धेरै भएको’ भन्ने कन्दङ्वा जस्तै, उपन्यासमा प्रस्तुत गरिएको ‘समय, काल तथा परिवेशहरु समयसापेक्ष नभएको’ले आफूलाई खटिकएको र उपन्यास भयवादमा आधारित भएको भन्ने बारे अझै आफूले नबुझेको समालोचकीय भनाइ राखेका थिए एक्लेले । टँक सम्वाहाम्फे, किसन राई, गणेश इजम, हेजेन राईका आ-आफ्ना, ‘भयवाद’ तथा ‘उपन्यास आदिवासी’ वा ‘उपन्यासकार देश सुब्बा’को बारेको मन्तव्यहरुपछि आफ्नो
‘उपन्यास तथा आफ्नो भयवाद’को बारेमा सानो मन्तव्य दिएका थिए उपन्यासकार देश सुब्बाले भने त्यस कार्यक्रममको ‘विमोचन तथा छलफको समापन’मा सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातले सिर्जनशीलता, भयवाद, वर्तमान नेपाली साहित्यसहित नेपाली डायस्पोरिक अवस्थासम्वन्धि मन्तव्य दिई उपस्थित अतिथिहरुलाई धन्यवाद दिएर सभा विसर्जन गरेका थिए । सोपश्चात् रात्रिभोज शुरु भएको थियो र अन्त्यमा अनौपचारिक कविता वाचनको कार्यक्रम रहेको थियो । देश सुब्बा, देबेन्द्र खेरेस, टँक सम्वाहाम्फे, गणेश इजम, हाङयुग अज्ञात, कमल पौडेल आदिले कविताको वाचन गरेका थिए । कार्यक्रम विहानको ०१ बजेसम्म चलेको थियो । कार्यक्रममा पैँतीस जना जत्तिको उपस्थिति रहेको थियो । समाजका साहित्यकारहरुसहित पत्रकारहरु, सनराइजका सम्पादकद्वय भूपेन्द्र चेम्जोङ-नन्द प्रकाश वाक्सिला, नेपाल डट यचकेका आशिष साम्पाङ ‘महेश’ तथा फोटो पत्रकार मातृका राई आदिको उपस्थिति थियो ।कार्यक्रममा पहिलो पटक तीन जनालाई सँयुक्त रुपमा प्रमुख अतिथि बनाईएको थियो ।
सिर्जनशील साहित्य समाजका अध्यक्ष हाङयुग अज्ञातको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा हङकङ नेपाली महासँघका अध्यक्ष हेजेन राई, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई र यनआरयनका एसिया प्यासिफिक रिजनका क्षेत्रीय प्रतिनिधि गणेश इजम सँयुक्तरुपमा प्रमुख अतिथि रहेका थिए भने, हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टँक सम्वाहाम्फे, नेपाल डट यचकेका ‘हनेसा प्रमुख’ प्रदीप कन्दङ्वा, हङकङ नेपाली महासँघका साहित्य विभागका सँयोजक भोगेन एक्ले अन्य अतिथिहरु थिए । देश सुब्बाले केही वर्षअगाडिबाट हङकङमा भयवादबारेमा चर्चा चलिरहेको छ । भौतिक यावत जीवन र जगतमा हरेक वस्तुहरु ‘भय’बाट नै कृयारत रहेका हुन्छन् भन्ने अर्थमा उपन्यासकार देश सुब्बाले र्दुइ वर्षअगाडि नै एउटा भेलामा औपचारिकता निर्वाह गराइसकेका हुन् । मानव सभ्यतामा विकास भएर आज यो अवस्थासम्ममा आइपुग्नुमा मानवीय ‘लोभी’ प्रकृतिको कारण छ, नत्र आज मानव उही ढुङ्गे सभ्यतामा नै हुने थिए भन्ने विश्वव्यापी तर्कका विपरीत देश सुब्बाले आफ्नो भयवादलाई प्रष्ट्याउने प्रयास गरेका छन् । यसै सिलसिलामा उनको यो ‘आदिवासी’ शीर्षकको उपन्यास सिर्जनशील साहित्य समाज हङकङको प्रकाशनमा छापिएको छ । आफ्नो छोटो एकत्रित अवधिमै सिर्जनशील साहित्य समाजले हङकङबाट विभिन्न पुस्तकहरुको प्रकाशन गरेर, साहित्यिक गतिविधिहरुको आयोजना गरेर हङकङ नेपाली साहित्यलाई फलाउँदै फुलाउँदै लगेको छ । ‘ककपिक’, ‘राइफलको नालबाट जीवन नियाल्दा’, ‘शब्दघोष जिजीविषाको’, ‘हङकङमा कविता’, ‘राइफलले फलाकेको जिन्दगी’, ‘सिर्जनशील साहित्य’ (अर्ध वार्षिक पत्रिका) र ‘आदिवासी’ जस्ता पुस्तकहरु सिर्जनशील साहित्य समाज हङकङले प्रकाशित गरिसकेको छ ।

No comments: