News

Dec 2, 2007

साहित्यकार तिगेलाको देश बोक्नुको पीडा सार्वजनिक

बेलायती सेनामा कार्यरत रहेर पनि नेपाली साहित्य सिर्जनामा कलम चलाइरहनु भएका युवा साहित्यकार विश्वास दीप तिगेलाको पछिल्लो कृति '' देश बोक्नुको पीडा '' नियात्रा संग्रह एक विशेष समारोहका बीच शनिबार राजधानीमा सार्वजनिक गरियो । साहित्यकार तिगेलाको '' गृहयुद्धको पीडा '' नियात्रा संग्रहपछि आएको देश बोक्नुको पीडाको बरिष्ठ साहित्यकार डा. गोविन्दराज भट्टराईले विमोचन गर्नुभएको हो । बेलायती सेनामा रहेर कोसभो, केन्या, बेलायत, ब्रुनाई, मलेसियाजस्ता भू-भागमा पुगेर त्यहाँ देखेका कुरालाई कलात्मक शैलीमा उतार्न सफल तिगेलाले आफ्नो दोस्रो कृति देश बोक्नुको पीडामा आफूले विभिन्न देशका देखेका र भोगेका
कुराहरुलाई साहित्यक ढाँचामा उतार गर्नुभएको छ । विसे नगर्ची कविता लेखेर चर्चाको शिखरमा पुग्न सफल कवि श्रवण मुकारुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार विदेशी मुलुकको सैन्य जीवनमा व्यस्त रहेर पनि नेपाली साहित्यको विकासमा टेवा पुर्‍याउनु भएकोमा तिगेलाको प्रशंसा गर्नु हुँदै तिगेलाको पहिलो कृति नेपाली युद्ध साहित्यको प्रथम कृति भएको उल्लेख गर्दै दोस्रो कृति त्यसकै निरन्तरताका रुपमा मास्टर पिस भएको बताउनुभयो । कोसभो, केन्याजस्ता देशमा भएको द्वन्द्वका झिल्काहरु नेपाली माटोमासमेत फाट्टफुट्ट देखिन थालेको वर्तमान अवस्थामा विश्वास दीप तिगेलाका कृतिहरुले समस्या समाधानमा सहयोग पुर्‍याउने अपेक्षासमेत गर्नुभयो । डा. भट्टराईले भन्नुभयो, यो कृति यहाँका राजनीतिक दल र नेताहरुले एक पटक पढ्नै पर्छ । तिगेलाको लेखनमा प्रवासी आवाजसमेत प्रस्फुटन भएको उल्लेख गर्नु हुँदै इमान्दारिता, सरलता र अरुको भन्दा मौलिक हुनु नै उत्कृष्टता भएको बताउनुभयो । त्यसैगरी आफ्नो पुस्तकका बारेमा स्पष्टिकरण दिदै लेखक विश्वास दीप तिगेलाले आफूले देश नयाँ चरणमा प्रवेशका क्रममा रहेकाले त्यसका थोरबहुत सहयोग पुगोस भन्ने उद्देश्यले हतारमै प्रकाशन गरेको बताउनुभयो । उहाँले पुस्तकमा द्वन्द्वले बनाएका घाउ र त्यसले मानव जीवनका पारेको असर रहेकाले यसले नेपालको द्वन्द्व समाधान र भविष्य निर्माणमा योगदान गरोस भन्ने आफ्नो ध्येय रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, म पाठकले मन पराउछन् कि पराउँदैनन् भनेर लेख्दिनँ, जे देख्छु, जे भोग्छु त्यसैलाई साहित्यिक रुपमा उतार गर्छु, केही लुकाउँदिन । कार्यक्रममा कवि श्रवण मुकारुङले प्रवासमा रहेका नेपालीहरुको नेपाली साहित्यमा महत्वपूर्ण योगदान गरहेको उल्लेख गर्दै देश मेची, कोशी र कर्णालीको सीमाभित्र मात्र भएर एउटा नेपाली जहाँ पुग्छ, देश बोकेको पीडा लिएर जान्छ भन्नुभयो । उहाँले अहिले नयाँ नेपाल निर्माणसँगै नेपाली साहित्यमा पनि केन्द्रीय भागमा प्रहार गर्ने क्रम सुरु भएको उल्लेख गर्नुभयो । कार्यक्रममा निबन्धकार युवराज नयाँघरेले विश्वास दीप तिगेलाको लेखनमा भाषा, कला र चिन्तनको हिसावले उत्कृष्ट रहेको बताउनुभयो । उहाँले नेपाली साहित्यमा पेसाकर्मीको प्रवेश सुरु भएकोमा खुसी व्यक्त गर्दै सेना, डाक्टर आदिको प्रवेशबाट नेपाली साहित्यको विकासमा थप योगदान पुग्ने उहाँको विश्वास थियो । अमर तुम्याङले स्वागत गर्नुभएको उक्त कार्यक्रममा अम्बर नेम्बाङले पनि निबन्धमाथि टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा लेखक तिगेलाले अतिथिहरुलाई कलम र पुस्तक उपहार प्रदान गर्नुभएको थियो। विश्वास तिगेलाको अर्को कृति संक्षिप्त बोर्नियो परिचय पनि प्रकाशन भइसकेको भए पनि कार्यक्रममा देश बोक्नुको पीडा मात्र सार्वजनिक गरिएको थियो । कृतिमा विभिन्न फरक फरक देशमाका अनुभूतिहरु सँगालिएको ९ वटा नियात्रा रहेका छन् ।

No comments: