News

Dec 2, 2007

न्युयोर्कमा बलिहाङ तङनाम तथा फाल्गुनन्द जयन्ती सम्पन्न

बिक्रम लिम्बू नेम्बाङ, न्युयोर्क /लिम्वूवान ब्लगस्पोट,
नोभेम्बर १३ -किरात याक्थुङ चुम्लुङ अमेरिकाले न्युयोर्क शहरको रिज्वूडमा हालै फाल्गुनन्द जयन्ती तथा बलिहाङ तङनाम “दीपावली साँझ” भब्यताकासाथ सम्पन्न गरेको छ। हरेक साल आफ्ना स्थानीय जनसमुदायहरुको उपस्थितिमा याक्थुङ चुम्लुङ अमेरिकाले वार्षिक कार्यक्रमको रुपमा विविध कार्यक्रमहरुकासाथ मनाउंदै आएको बलिहाङ तङनाम “दीपावली साँझ” को रमाईलो कार्यक्रम यस वर्ष पनि महागुरु फाल्गुनन्द लिङदेनको स्मरण गर्दै मनाईएको छ। संयोगबस किरात धर्म भाषा तथा साहित्यको प्रचार प्रसार र संरक्षणकालागि अमूल्य योगदान दिने राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको १२३ औं जन्म जयन्ती पनि सोही दिन पर्न गएको थियो।संस्थाका अध्यक्ष पुर्ण बहादुर लिम्बूले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तस्बीरमा पुष्पार्णण गर्दै दीप जलाएर शुरुवात गर्नु भएको कार्यक्रममा महागुरुको बिषयमा उपाध्यक्ष नगेन्द्र ईङनामले तथा बलिहाङ तङनाम “तिहार पर्ब” को बारेमा वरिष्ठ अधिवक्ता दुर्गा सुब्बाले संक्षिप्त जानकारी दिएका थिए। त्यसै गरी भूतपूर्ब अध्यक्ष तथा वर्तमान सल्लाहकार श्याम सुब्बा मेन्याङबोले यो तिहारको जमघटले परम्पराको संरक्षण गर्नुका साथै आपसी मेलमिलापको वातावरण बढाउंदै जाने छ भन्नु भयो।परम्परागत लिम्बू भाषाबाट खेलिने देउसी भाका “लारिङ्गेक नाम्लिङ्गेक” को रमाईलो क्षणपछि उपस्थित सबैजनाले सामूहिक देउसी खेलेर रमाईलो गरेका थिए भने लोकप्रिय च्याब्रुङ नाच र रमाईलो धान नाँच नाच्दै डि.जे. मस्तिमा रम्दै कार्यक्रमको अन्त भएको थियो। महासचिव दिपेस सुब्बा चबेगुले संचालन गरेको कार्यक्रममा अध्यक्ष लिम्बूले सम्पूर्ण सहयोगी दाजुभाई दिदी बहिनीहरुमा आभार ब्यक्त गर्नु भएको थियो।

No comments: