News

Apr 25, 2008

दलहरुको सीट तोकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभा चुनावमा समानुपातिक प्रणालीतर्फ दलहरुले पाएको मतको आधारमा उनीहरुले पाएको सीट संख्या निर्वाचन आयोगले सार्वजनिक गरेको छ । संविधानसभा चुनावमा ३३५ सीटका लागि भएको समानुपातिकतर्फको मतदानमा राजनीतिक दलहरुले पाएको मतका आधारमा निर्वाचन आयोगले दलहरुले पाएको सीट संख्या सार्वजनिक गरेको छ । आयोगले प्रकाशित गरेको नतिजा अनुसार २५ दलहरुले समानुपातिक प्रणालीबाट संविधानसभामा प्रतिनिधित्व पाएका छन् । समानुपातिकबाट पनि प्रत्यक्षमा जस्तै माओवादी पहिलो, नेपाली कांग्रेस दोश्रो, एमाले तेश्रो, मधेशी जनअधिकार फोरम चौथो र तराई मधेश लोकतान्त्रिक पार्टी पाँचौ स्थान पाएका छन् ।
आयोगले प्रकाशित गरेको नतिजा अनुसार, समानुपातिक प्रणालीबाट माओवादीले १००, नेपाली कांग्रेसले ७३, एमालेले ७०, फोरमले २२ र तराई मधेश लोकतान्त्रिक पार्टीले ११ जना संविधानसभामा पठाउन पाउनेछन् । यसैगरी, नेपाल कम्युनिष्ट पार्टी मालेले ८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८, नेपाल कम्युनिष्ट पार्टी संयुक्तले ५, राजेन्द्र महतोको सदभावना पार्टीले ५, जनमोर्चाले ५ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ४ स्थान पाएका छन् । यस्तै, जनशक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चाले ३, राष्ट्रिय जनमुक्ति पार्टीले २, नेपाल मजदुर किसान पार्टीले २, नेपाल कम्युनिष्ट पार्टी एकिकृतले २, नेपाल सदभावना आनन्दीदेवीले २, नेपाली जनता दलले २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले २ स्थान पाएका छन् । संविधानसभामा एक स्थान मात्र पाउने दलहरुमा समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपाल, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपा राष्ट्रिय पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल छन् । निर्वाचनमा भाग लिएका ५४ मध्ये २९ दलले भने आवश्यक मत ल्याउन नसकेकाले संविधानसभामा सीट प्राप्त गर्न नसकेको निर्वाचन आयोगका प्रवक्ता लक्ष्मणप्रसाद भट्टराईले बताए ।

No comments: