News

Apr 22, 2008

राजा ज्ञानेन्द्र दरबारबाट नहटे सेना लगाएर भए पनि हटाउने - बादल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादलले राजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट नहटे सेना लगाएर भए पनि हटाउने बताउनुभएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सकेसम्म शान्तिपूर्ण रुपमा हटाउन चाहेको र नहटे विकल्प खोजेर भए पनि हटाउन बाध्य हुने बताउनुभयो ।
'शान्तिपूर्ण रुपमा हटे ठिकै छ, अन्यथा विकल्प खोजेर हटाउनुपर्ने हुन्छ'- बादलले भन्नुभयो-'संविधानसभाको पहिलो बैठकले निर्णय गरेपछि पनि राजा नहटे सेना या अन्य शक्तिको प्रयोग गरेरै भए पनि हटाइनेछ ।' राजालाई पशुपतिनाथले पनि बचाउन नसक्ने भन्दै शान्तिपूर्ण माध्यमबाट समस्याको हल खोज्न अन्तिम समयसम्म पनि प्रयास गरिने बताउनुभयो । कार्यक्रममा बोल्दै बादलले नारयाणहिटीबाट शान्तिपूर्ण बहिर्गमनकै लागि भनेर राजासँग भेट्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो-'हामी राजासँग दाम चढाउनका लागि भेटन लागेका होइनौँ, नारायणहिटीबाट बहिर्गमन गराउन भेट्न लागेका हौँ ।'
आफूहरु सांस्कृतिक राजा या कुनै पनि नामधारी राजा राख्ने पक्षमा नरहेको उहाँले बताउनुभयो । आपना दलका कुनै नेताले त्यस्ता अभिव्यक्ति दिएको भए त्यो आधिकारिक धारणा नभएको बताउनुभयो । नेपालमा कुनै पनि प्रकारको राजतन्त्रको अवशेष नरहने उहाँको भनाइ थियो । आफूहरुले धेरै राजावादीलाई भेटेर गणतन्त्रवादी बनाउन सफल भएको दाबी पनि उहाँले गर्नुभयो ।
राजालाई गद्दी छाड्न लगाउने उद्देश्यले पछिल्ला समयमा पनि राजावादीसँग भेटिएको उहाँले स्वीकार्नुभयो । उहाँले भन्नुभयो-'अरुले राजालाई बलियो बनाउन र दाम चढाउन भेटे, हामी राजा हटाउन भेट्दैछौँ ।' 'राजा माओवादीको सदस्य बन्न चाहे पाउँछन् कि पाउँदैनन् -' भन्ने प्रश्नमा उहाँले भन्नुभयो-'लोकतान्त्रिक आचरण बनाएर आए राजालाई माओवादीले सदस्यता दिन्छ ।' सेना समायोजनबारे शान्ति सम्झौतामै उल्लेख भइसकेकाले त्यसलाई संविधानसभाले टुङ्गो लगाउने उहाँले बताउनुभयो ।
नेपाली सेनाको लोकतान्त्रिकरण र जनसेनाको व्यवसायीकरणलाई महत्वका साथ लिएको बताउदै उहाँले भन्नुभयो-'दुवै सेना एकीकरण गरी राष्ट्रिय सेना बनाउछौँ ।' उहाँले दुवै सेनामा भएकामध्येबाट छानेर औद्योगिक सेना गठन पनि विकल्पका रुपमा रहने बताउनुभयो । संविधानसभाले राष्ट्रिय सुरक्षा नीति निर्माण गरेपछि सेनालाई लोकतान्त्रिकरण गर्न मदत मिल्ने उहाँको विचार थियो । आफूहरु सेनाको संख्या घटाउनुपर्ने पक्षमा रहेको बताउँदै सबै जनतालाई फौजी तालिम अनिवार्य गरिनुपर्नेमा उहाँको जोड थियो । प्रधान सेनापति रुक्माङ्गत कटुवाल आपनो पदमा कायमै रहने/नरहनेबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो-'सेवा अवधि पूरा गर्न पाउनुपर्छ तर विगतमा गल्ती गरेको भए सजाय दिनुपर्छ भन्ने मान्यताका साथ संविधानसभाले निर्णय गर्छ ।' उहाँले आफूहरुको भारतका नक्सलाइट र सशस्त्र संघर्ष गरिरहेका कम्युनिष्ट पार्टी राम्रो सम्बन्ध रहेको पनि खुलासा गर्नुभयो ।
रिम र कम्पोसासँग पनि सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो-'हामीले वैचारिक सम्बन्ध स्थापित गरेका हौँ, प्राविधिक सहयोग आदानप्रदान गरेका छैनौँ ।' यसैबीच भारतीय राजदूत शिवशंकर मुखर्जीले माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरी राजाको बहिर्गमनका विषयमा छलफल गर्नुभएको छ ।
काठमाडौंको नयाँ बजारस्थित निवासमै पुगेर राजदूत मुखर्जीले प्रचण्डसँग पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्नुभएको हो । छलफलमा माओवादीको नेतृत्वमा बन्ने भावी सरकार, राजाको स-सम्मान बहिर्गमन र भारतले गर्ने सहयोगका विषयमा छलफल भएको बताइएको छ ।
दलहरुबीचको सहकार्य र सेना समायोजन लगायतका विषयमा पनि छलफल भएको माओवादी स्रोतले जानकारी गराएको छ । स्रोतका अनुसार माओवादीले भावी सरकार गठनका लागि तयारीसमेत गरिरसकेको छ । यसैबीच बंगलादेश सरकारले माओवादी नेतृत्वमा बन्ने भावी सरकारसँग सहकार्य जारी राख्ने जनाएको छ । बंगलादेश सरकारका विदेश मामिला सल्लाहकार डा. इफ्तेश्वर अध्यद चौधरीले जननिर्वाचित माओवादी नेतृत्वको भावी सरकारसँग घनिष्ट सम्बन्ध राखी मिलेर काम गर्ने बताउनुभएको छ । चौधरीले निर्वाचन स्वतन्त्र र धाँधलिरहित रुपमा सम्पन्न भएको भन्दै स्वागतसमेत गर्नुभएको छ ।

No comments: