News

Apr 29, 2008

माओवादी केन्द्रीय समितिको बैठक सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,कठमाडौं
चुनावी समिक्षा, सरकार निर्माण, संविधानसभाको तयारी र पार्टी पुनर्गठनबारे निर्णय गर्न माओवादी केन्द्रीय समितिको बैठक सुरु भएको छ ।
संविधानसभा चुनावबाट सबैभन्दा ठूलो दल बनेको माओवादी केन्द्रीय समितिको बैठक आज बैशाख १६ गते सुरु भएको छ । राजधानीको नयाँबजारमा रहेको माओवादीको निर्वाचन क्षेत्रीय कार्यलयमा सुरु बैठकले संविधानसभा चुनावको समिक्षा गर्नुसँगै सरकार निर्माणबारे पार्टीको रणनीति तयार गर्ने श्रोतले बताएको छ । श्रोतका अनुसार केन्द्रीय समितिको बैठकले अन्तरिम संविधानमा उल्लेख भए अनुसार राजतन्त्रको अन्त्य तथा संविधानसभालाई अघि बढाउने नीति पनि बनाउने छ । यसैगरी, बैठकको पार्टी संगठन पुनर्गठन सम्बन्धि पनि कार्ययोजना रहेको श्रोतले जानकारी दियो ।
माओवादी श्रोतका अनुसार, आजदेखि सुरु बैठकमा सरकार निर्माण तथा सरकारको नेतृत्व पार्टीको कुन नेताले गर्नेबारे गम्भीर बहश हुने सम्भावना छ । अन्तरिम संविधानमा राष्ट्रपतिको प्रावधान नरहेको तथा अन्तरिम संविधान संशोधनका लागि राजनीतिक सहमति चाहिने भएकाले पार्टीका अध्यक्ष प्रचण्डको साटो अर्का नेता डा. बाबुराम भट्टराईलाई सरकारको नेतृत्व गर्न पठाउनुपर्ने केही नेताको भनाइ छ भने अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व आफैं गर्ने घोषणा गरिसकेको अवस्थामा बिबाद चर्कने सम्भावना देखिएको श्रोतको दावी छ । दलहरुबीचको राजनीतिक सहमति अनिवार्य रहेको वर्तमान अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री बनाउदा उनी दोश्रो स्थानमा रहने तथा राष्ट्रप्रमूख अर्कै पार्टीका ब्यक्ति हुनसक्ने तर्क गर्दै प्रचण्ड शक्तिशाली राष्ट्रपतिको ब्यवस्था नहुँदासम्म पार्टीमै बस्नुपर्ने केही नेताहरुले तर्क गरिरहेका छन् । अर्कातर्फ मोहन बैद्यलगायत केही नेता सरकारको नेतृत्व प्रचण्डले नै गर्नुपर्ने पक्षमा सार्वजनिकरुपमै उत्रेका छन् ।

No comments: