News

Jul 17, 2012

जापान र चीनले पूर्वी चाइना समुद्रमा विवाद बढ्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
टोकियो, श्रावण १ - जापान र चीनले पूर्वी चाइना समुद्रमा अवस्थित दुईवटा द्वीपका लागि आआफ्नो दाबी कायमै राखेपछि यी दुई देश बीचमा विवाद बढेको बताइएको छ । पूर्वी चाइना समुद्रमा अवस्थित ती द्वीपहरूमा आआफ्नो स्वामित्वको दाबी उनीहरूले विगत लामो समयदेखि गर्दै आएका छन् । यसका लागि विगतमा पनि एक अर्का विरुद्धमा प्रदर्शन हुँदै आएका छन् । तर पछिल्लो समयमा यी दुई देशले विवादलाई सतहमै ल्याएको बताइएको छ । गत सातामात्र जापानले ती दुई द्वीप किन्ने निर्णय गरेको सार्वजनिक गरेपछि झन विवाद बढेको छ । एसियाका दुई ठूला अर्थतन्त्र एवम् शक्ति राष्ट्रका बीचमा गतसातादेखि यो नयाँ विवाद सुरु भएको छ । जापानमा सेनकाकु र चीनमा दियाओयु भनिने ती द्वीपका लागि उनीहरूले आआफ्नो दाबी गर्न छोडेका छैनन् । गत साता दुईवटा चिनियाँ जहाज उक्त क्षेत्रमा गएपछि जापानले बेइजिङमा गुनासो दर्ता गराएको थियो । जापानले त्यस विषयमा कडा विरोध पनि गरेको छ । टोकियोमा चीनविरुद्ध जापानी नागरिकले विरोध प्रदर्शनको तयारी गरे पनि सरकारले त्यसलाई रोकेको थियो । पूर्वी चाइना सीमा अवस्थित द्वीपहरूमा जापान तथा चीनको दाबीमा विवाद देखिएपछि जापानले चीनस्थित आफ्ना दूतलाई परामर्शका लागि आइतबार बोलाएको छ । दूत उइचिरो निवालाई पछिल्लो घटनाक्रमका बारेमा बुझ्नका लागि टोकियोमा बोलाइएको र विदेशमन्त्री कोइचिरो गेम्बाले यस विषयमा सोमबार पछिल्लो जानकारी लिने जापानी अधिकारीहरूले बताएका छन् । निवाले टोकियोमा आइपुग्नुभएपछि पत्रकारहरूलाई आफूले विदेशमन्त्री गेम्बालाई त्यस विवादको पछिल्लो विकसित घटनाक्रमका बारेमा जानकारी दिने र यस विषयमा उनीसँग परामर्श गर्ने बताए । राजदूत नै फिर्ता बोलाइएपछि जापान चीन विरोधी प्रदर्शनको तयारीमा रहेको आरोप लागेको छ । तर विदेशमन्त्री गेम्बाले चीनविरुद्ध विरोध प्रदर्शनका लागि दूत निवालाई फिर्ता नबोलाइएको र उनीसँग परामर्श गरिने जानकारी दिए । यस घटनापछि जापानी अधिकारीहरूले टोकियोस्थित चिनियाँ दूतलाई पनि बोलाएका थिए । जापानले ती द्वीप आफ्नो नागरिकको स्वामित्वमा रहेको बताउँदै आएको छ । तर यी द्वीपलाई खरिद गर्ने निर्णय उसले गरेपछि पनि चीनले त्यसको व्यापक विरोध जनाएको थियो । यसले पनि ती द्वीपहरु आफ्नो स्वामित्वमा रहेको बताउँदै आएको छ । यसै विषयलाई लिएर विगतमा जापान र चीनका बीचमा कूटनीतिक सम्बन्धमा पनि चिसो छाएको थियो । यस्तै विवादहरुकै बीचमा यी दुवै देशका नागरिकहरूले नागरिकस्तरमा टोकियो र बेइजिङमा विरोध प्रदर्शन एवम् जुलुशहरू पनि निकाल्ने गरेका छन् ।

No comments: