News

Jul 28, 2012

पूर्व पदाधिकारीहरुलाई दिएको सुविधाको गाडी कब्जा गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
यूवा संघ नेपालले सरकारले पूर्व पदाधिकारीहरुलाई दिएको सुविधाको गाडी कब्जा गर्ने भएको छ । संघले शनिवार राजधानीमा पत्रकार सम्मेलन गरेर सुविधाका गाडि कब्जा सहितका सरकार विरुद्धको १० दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । यूवा संघले साउन १४ गते उपत्यका भेला गरेर आन्दोलनको सुरुवात गर्ने छ । घोषित आन्दोलनका कार्यक्रम अनुसार साउन १६ र १७ गते बानेश्वरमा ४ बजे आधा घण्टा चक्का जाम गर्ने, साउन १८, १९ र २० गते ७५ जिल्लामै ४ बजेपछि आधा घण्टा चक्का जाम गर्ने, २० गते साँझ मसाल जुलुस, साउन २१ र २२ गते विहान ६ बजेदेखि १० बजेसम्म उपत्यका बन्द गर्ने लगायतका रहेका छन् । त्यसैगरी साउन २३ र २४ गते विहान ६ देखि १० बजेसम्म नेपाल बन्द र बर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको कार्यक्रममा अवरोध पुर्याउने र कालो झण्डा देखाए बहिस्कार गर्ने कार्यक्रम पनि रहेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष महेश बस्नेतले राजनीतिक दलहरुवीच सहमतिको सम्भावना क्षिण बन्दै गएको र सरकार सुध्रिने मनस्थितिमा नरहेको स्पष्ट भएको भन्दै सरकारलाई सत्ता च्युत गर्न आन्दोलनको विकल्प नभएको बताए । उनले एमालेकै नेताहरुले लिएको सुविधाको सवारी साधन समेत कब्जामा लिने चेतावनी दिदै सरकारलाई सुविधा भन्दा पनि जनतालाई मल उपलब्ध गराउन सुझाव दिए। बस्नेतले संघले आफ्नो आन्दोलनलाई यसपटक तराईमा केन्द्रित गर्ने जानकारी दिदै तराई मधेस जागरण अभियान अन्र्तगत मधेसी जनताका भावना विपरीत भ्रष्टाचार, डकैति, रातो पासपोर्ट दुरुपयोग, डकैति लगायतका घटना संस्थागत रुपमा बढेकोले त्यसलाई परास्त पार्न मधेस केन्द्रित आन्दोलन थालिएको जानकारी दिए । बस्नेतले नेपालमा आएका आईएनजीओले नेपालमा विदेशी हस्तक्षेप बढाएको दाबी गर्दै उनीहरुको क्रियाकलाप र गतिविधीको विषयमा पनि यूवा संघले हस्तक्षेपकारी अभियान अगाडि बढाउने बताए । जसका लागि युवा संघले उपाध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा समितिनै गठनसमेत गरेको छ ।

No comments: