News

Jul 12, 2012

महिला बेच्नेलाई १७० वर्ष कैद सजायको फैसला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
 चौतारा, असार २८ - सिन्धुपाल्चोक जिल्ला अदालतले ६ जना किशोरी बेचबिखन गरेको र देहव्यापारमा लगाएको छुट्टाछुट्टै अभियोगमा एक जना अभियुक्तलाई १ सय ७० वर्ष जेल सजायको फैसला गरेको छ । ६ जनाको बेग्लाबेग्लै मुद्दामा भएको कैद जोड्दा त्यति समय जेल सजाय पुगेको हो । जिल्ला न्यायाधीश अनन्तराज डुब्रेको एकल इजालसले शिखरपुर-९ का ३७ वर्षीय प्रेम भन्ने बजिरसिंह तामाङविरुद्ध बुधबार यस्तो फैसला गरेको हो । साथै उनीसँगै सोही अभियोगमा बाँसखर्कका सुकमान तामाङ र नवलपुरका टेकबहादुर विकलाई क्रमशः १६ र १२ वर्ष ६ महिना कैद सजाय तोकेको छ । फैसलाअनुसार अभियुक्तहरूले जरिवाना र क्षतिपूर्तिबापत ३१ लाख बेहार्नुपर्ने छ । बजिरविरुद्ध सिन्धुपाल्चोकका पश्चिमी र मध्य भेगका १३ देखि १६ वर्षका ६ चेली किनेर भारतमा देहव्यापारमा लगाएको अभियोग लगाइएको थियो । बेचिएका चेलीमध्ये एफको मुद्दामा ४० वर्ष, ईको मुद्दामा ४०, एलबीको मुद्दामा २०/२० र जीजेको मुद्दामा २५/२५ वर्ष कैद गरिएको हो । ती सबैको प्रहरीले राखेको छदम नाम हुन् । फैसलाअनुसार बजिरले पीडितले पाउने गरी क्षतिपूर्तिबापत जनही १ लाख ५० हजारका दरले ६ जनालाई ९ लाख र जरिवानाबापत १३ लाखसमेत २२ लाख रुपैयाँ तिर्नुपर्ने छ । सोही अभियोगमा सुकमान र टेकबहादुरले पीडित ६ जनालाई ७५ हजारका दरले क्षतिपूर्ति भर्नुपर्ने छ । प्रहरीले उनीहरूलाई ०६७ मंसिरमा पक्राउ गरी अदालतको आदेशमा फागुनमा पुर्पक्षका लागि थुनामा राखेको थियो । यस्तै सुकमान र टेकबहादुरलाई मतियारका रूपमा सजाय तोकिएको छ । टेकबहादुर र सुकमानविरुद्ध बेचबिखन र ओसारपसार गर्न सघाएको अभियोग लगाइएको थियो । फैसलाअनुसार पीडित ६ जनाले २ लाख २५ हजारका दरले क्षतिपूर्ति पाउने छन् । जागिर लगाइदिने र खाडी मुलुक पठाउने बहानामा बजिर आफैंले भारतको आग्रामा सञ्चालन गरेको कोठीमा चौताराबाट किनेर बेश्यावृत्तिमा लगाएका थिए । बजिरले सहयोगीमार्फत लगिएको चेलीहरूलाई खरिद गरेर कोठीमा राखेका थिए । उनी जिल्लामा बेचबिखनको डनका रूपमा परिचित थिए । उनले सञ्चारकर्मीलाई 'जति फोटो खिच्नुहुन्छ खिच्नुस्' भन्दै अदालतबाट निस्कँदा हाँस्दै कारागार गएका थिए । 'मलाई कुनै पछुतो छैन,' उनले भने । पीडित चेलीमध्ये चौतारामा विभिन्न समयमा भागेर नेपाल आउन सफल ६ जनाले किटानी जाहेरी दिएका थिए । अभियुक्त ८ जनामध्ये ५ जना अझै फरार छन् । भारतमा नारकीय जीवन बिताउन बाध्य चेलीहरू राजधानीमा शक्ति समूहको संरक्षणमा बस्दै आएका छन् । अदालतमा ५ घन्टा बहसपैरवी भएको थियो । सिन्धुपाल्चोक जिल्ला अदालतको इतिहासमा यति धेरै सजाय भएको घटना सम्भवतः यो पहिलो हो । बहसका क्रममा बजिरले सञ्चालन गरेको कोठीमा अझै नेपाली केटी रहेको जिकिर गरेका थिए । यसैबीच बजिरलगायत अभियुक्तलाई सजाय भएको खबरबाट पीडितहरू हषिर्त भएका छन् । शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङले पीडितले न्याय पाएको बताएकी छन् । राजधानीमा बसिरहेका ६ जना चेली हषिर्त छन् । केही चेलीहरू खुसीले रोएका थिए ।

No comments: