News

Jul 3, 2012

प्रहरीमा यौन दुर्व्यवहार व्यापक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
असार १९ - प्रहरीको काम हो अर्काको सुरक्षा गर्नु । त्यो संगठनमै कार्यरत महिलाको अवस्थाचाहिँ कस्तो छ नि ? प्रतिवेदन भन्छ- एकदम असुरक्षित । प्रहरीले आफ्नै खर्चमा हालै गरेको सर्वेक्षणबाट विभिन्न खाले यौन दुव्र्यवहार भोग्ने महिला प्रहरी झन्डै ४० प्रतिशत भएको देखाएको छ । प्रहरीका ६० हजार जनशक्तिमा ६ प्रतिशत महिला छन् । यस्तो भयावह अवस्था देखेपछि प्रहरीले आइतबारदेखि संगठनभित्र लैंगिक नीति लागू गरेको छ । प्रहरी प्रवक्ता विनोद सिंहले उक्त नीति कार्यान्वयनका लागि देशव्यापी अभिमुखीकरण सुरु गरिने बताए । देशभरबाट छानिएका ८ सय २४ महिला प्रहरीमाथि गरिएको सर्वेक्षणमा ३८ प्रतिशत पुरुष सहकर्मीले आफ्नैसामु अश्लील शब्द प्रयोग गरेको बताए । घुमाउरो पाराका घोचपेच भोग्ने ३४ प्रतिशत भेटिए । यौन दुव्र्यवहारसम्बन्धी १९ प्रश्नमध्ये अधिकांश महिला सहकर्मीमाथि पुरुषले असजिलो पर्ने किसिमले गर्ने व्यवहारसँग सम्बन्धित थिए । जिस्काउने, होच्याउने, उच्छृंखल एवं अश्लील हाउभाउ भोग्ने १५ प्रतिशत पाइए । अझ रातको समयमै ड्युटी गरिरहँदा अभद्र व्यवहार सामना गर्ने १६ प्रतिशत देखिए । यौनजन्य आक्रमण नै भोगेकाको संख्या पनि कम छैन । तीन प्रतिशतले पुरुष सहकर्मीबाट संवेदनशील अंगमा छोएको वा छुने प्रयास गरेको उल्लेख गरे । बलात्कार प्रयास भएको गुनासो गर्ने दुई प्रतिशत छन् । महिला प्रहरीले ड्युटी गर्दा यौन दुव्र्यवहारका दृष्टिले अत्यन्तै संवेदनशील पाइएको छ । सर्वेक्षणका अनुसार ३० प्रतिशतभन्दा बढी महिला सहकर्मीको साथबिनै ड्युटीमा जानुपर्छ । ८५ प्रतिशतभन्दा बढीले राति ड्युटी सकिएपछि भाडाको कोठामा बास बस्न जानुपर्ने हुन्छ । तीन प्रतिशतमात्र ब्यारेकमा बस्छन् । कामपछि राति बासस्थानसम्म जाने सवारीले पुर्‍याउने सुविधा नपाउने ८७ प्रतिशत छन् । प्रहरी कार्यालयहरू पटक्कै महिलामैत्री नभएको उच्च तथ्यांकमा देखियो । कार्यालयमा चेन्जिङ रुम नभएर अप्ठ्यारो भोग्नेहरू ६७ प्रतिशत छन् । चौहत्तर प्रतिशतले त बेग्लै शौचालयसमेत पाएका छैनन् । सर्वेक्षण र लैंगिक नीति तयारीमा संलग्न अधिकारीहरूका अनुसार यी दुई सुविधा नहुँदा यौन दुव्र्यवहारको खतरा विशेष रहन्छ । माथिल्लो तहका पुरुष सहकर्मीले आफूहरूले भनेको नमानेका कारण विभेदै गरेको पाइयो । त्यस्तो गुनासो गर्ने ४३ प्रतिशत छन् । तालिम दौरान पुरुष प्रशिक्षकबाट फकाउने, दबाबमा पार्ने अवस्था भोगेकाहरू ६ प्रतिशत छन् । उत्पीडन छ, सुनुवाइ कम छ । आवाज उठाउन साहस नगर्ने पनि उत्तिकै छन् । सर्वेक्षणका अनुसार ४० प्रतिशतले नराम्रो लागेको कुरा रिपोर्ट नै गर्दैनन् । रिपोर्ट गरे पनि चित्तबुझ्दो समाधान नआएको भन्नेहरू ५८ प्रतिशत रहे । रिपोर्ट गर्न नै सहजता छैन भन्नेहरू ५३ प्रतिशत भेटिए । सर्वेक्षण यौन दुव्र्यवहार र सेवासम्बन्धी अनुभव गरी दुई भागमा सम्पन्न गरिएको हो । यौन दुव्र्यवहारकै कारण प्रहरी सेवा ठीक नलागेको बताउने महिला प्रहरी एक प्रतिशत पाइए । नेपाल प्रहरीको अन्वेषण र सुपरिवेक्षण निर्देशनालयले सर्वेक्षण र त्यसका आधारमा लैंगिक नीति तयार गरेको हो । प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहले आइतबार सर्वेक्षण र लंैगिक नीति प्रतिवेदन अनुमोदन गरी सार्वजनिक गरेका हुन् । 'अबको दुनियाँमा वैज्ञानिक किसिमको अनुसन्धानबिना केही काम गर्न सक्दैनौं । त्यसैले सर्वेक्षणका आधारमा हामीले लैंगिक नीति तयार गरेका हौं,' निर्देशनालयका प्रमुख डीआईजी विज्ञानराज शर्माले भने । प्रतिवेदनमा महिला प्रहरीलाई सजिलो पहिरन लगाउन दिनेदेखि शौचालय, चेन्जिङ रुम, ब्यारेकसम्मका व्यवस्था गर्ने, पतिपत्नी दुवै प्रहरी भए सकेसम्म एकै पोस्टिङमा राख्नेदेखि महिला प्रहरीमा सचेतना र सशक्तीकरणसम्मका समाधान देखाइएका छन् ।

No comments: