News

Jul 31, 2012

पूर्व मन्त्री खड्काको भ्रष्टाचार मुद्दा फैसला साउन ३० मा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन १६- गैरकानुनी सम्पत्ती आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्चमा पाँच वर्षअघि दायर गरेको मुद्दाको फैसला आगामी साउन ३० गते हुने भएको छ। हिजो र आजको सुनुवाईपछि पक्ष र विपक्षको बहस सकिएकोले न्यायाधीश कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको संयुक्त इजलासले साउन ३० गते फैसला सुनाउने भएको हो। पाँच वर्षमा पटक पटक पेशी चढ्दै सर्दै तथा अनेक पटक स्थगित हुँदै मुद्दा दर्ता भएको चार वर्षपछि २०६७ चैत १३ गते बल्ल तत्कालीन प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र सुशीला कार्कीले झगडिया झिकाउने आदेश दिएका थिए। गत वर्ष साउन २२ गते मिसिल झिकाउने आदेश कल्याण श्रेष्ठ र तर्कराज भट्टको संयुक्त इजलासले गरेपछि गत वर्ष कात्तिक ७ गतेदेखि यो मुद्दाको सुनुवाई कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासमा भइरहेको छ। बीचमा एक पटक खड्काका कानुन व्यवसायीका कारण पेशी स्थगित भए पनि यो मुद्दा उनीहरुकै इजलासमा लामो समयदेखि 'हेर्दाहेर्दै'को अवस्थामा थियो। पटक पटक पदको दुरुपयोग गरेर २ करोड ३६ लाख ८७ हजार बराबरको अवैध सम्पति आर्जन गरेको अभियोग अख्तियारले लगाए पनि विशेष अदालतले १२ लाख बराबरको सम्पतिको मात्रै स्रोत नखुलेको ठहर गरेको थियो। “मिसिलमा संलग्न सबुत प्रमाणबाट प्रतिवादी खुमबहादुर खडकाले वैध आयस्रोतका अनुपातमा अमिल्दो र अस्वाभाविक सम्पत्ति आर्जन गरेको पुष्टि हुन नआएको हुँदा निज प्रतिवादीले दाबीको कसुर गरेको नठहरी सफाइ पाउने ठहर्छ”, विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी र सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले गरेको फैसलामा लेखिएको छ। विशेषले २०६३ कात्तिक २९ गते गरेको यो फैसलालाई चुनौती दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट आयोगका अनुसन्धान अधिकृत गोबिन्दबहादुर श्रेष्ठले २०६३ चैत १५ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए।

No comments: